‘जाजरकोटमा उपचार व्यवस्था गर’

काठमाडौं, ३ वैशाख । मध्यपश्चिमको जाजारकोटमा केही दिनदेखि फैलिएको इन्फ्लुयन्जा तत्काल रोकथाम र बिरामीको उचित उपचार प्रबन्ध गर्न नेकपा एमालेले स्वास्थ्यमन्त्री खगराज अधिकारीसहित सरकारलाई निर्देशन दिएको छ ।

बुधबार पार्टी कार्यालय मदननगर बल्खुमा स्वास्थ्यमन्त्री अधिकारीसहित स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीलाई बोलाएर एमालेले रोकथाम गर्न निर्देशन गरेको हो ।

पार्टी महासचिव ईश्वर पोखरेलले मन्त्रीसहित उच्च अधिकारीलाई बोलाएर तुरुन्त रोकथाम गर्न र औषधिको उचित प्रबन्ध गर्न निर्देशन दिएका हुन् । उनले मन्त्रीलाई जिल्लामा गरिबी, विषम बसाइ स्थिति, रहनसहन, खान–पान र अन्धविश्वासका कारण स्वास्थ्य समस्या जटिल स्थितिमा रहेकाले मन्त्रालयका तर्फबाट पर्याप्त स्वास्थ्यकर्मी र औषधि पुर्‍याउन आग्रह गरे ।

जाजरकोटमा इन्फ्लुयन्जा र स्वाइन फ्लुबाट १७ नागरिकको ज्यान गएको छ । तीमध्ये ५ मा स्वाइन फ्लु देखिएको छ ।

मन्त्री अधिकारीले जाजरकोटमा २० देखि ९० वर्षका २ हजार मानिस महामारीबाट प्रभावित भएको बताए । उनले स्वास्थ्य परीक्षण भएको तथा पर्याप्त चिकित्सक, स्वास्थ्यकर्मी र औषधिको प्रबन्ध मिलाइएको जानकारी दिए ।

उनले महामारीलाई मध्यनजर गरी क्षेत्रीय निर्देशकको नेतृत्वमा उपचार र नियन्त्रणको काम प्रभावकारी र व्यवस्थित गरिएको तथा प्रकोपपीडितको उपचारमा कुनै कमी हुन नदिइनले बताए ।

यसैबीच, एमालेले जाजरकोट जिल्ला कमिटी र सबै स्थानीय कमिटीलाई प्रकोप नियन्त्रणमा जुट्न निर्देशन दिएको छ ।

प्रतिक्रिया