दिल्ली, २ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । सोमबार राति खेलमा रोयल च्यालेन्जर्स बैगलोर हैदराबादसँग आठ विकेटले पराजित गरेको छ । १ सय ६७ रनको लक्ष्य हैदराबादले १६ बल बाँकी रहँदा दुइ विकेटको क्षतिमा १ सय ७२ रन प्रहार गर्यो । सिखर धवन र लोकेश राहुलले तेस्रो विकेटका लागि अविजित ७८ रनको साझेदारी गर्नु पूर्व डेविड वार्नरले बिस्फोटक सुरुआत गर्दै २७ बलमा ५७ रन प्रहार गरे । उनको पारीमा ६ चौका र चार छक्का समावेश थियो । उनी ‘म्यान अफ द म्याच’ समेत घोषित भए ।
आठौँ ओभरको पाँचौ बलमा वार्नर लेगस्पिनर युज्भेन्द्र चाहलको बलमा एलबिडब्लु आउट हुनुअघि हैदराबादले ८२ रन जोड्दै जितको आधार तयार गरिसकेको थियो । बैंगलोरका सिम बलर वरुण आरोन, हर्ष पटेल र सीन एबोट वार्नरको धुँवादार ब्याटिङको सिकार हुँदा दोस्रो पारीको सुरुआतमै खेल हैदराबादको पक्षमा पुगेको थियो ।
पटेलले दुई ओभरमा २३ तथा एबोटले २१ रन खर्चे । यसैगरी आरोनले ३.२ ओभरमा ३६ रन खर्चे । यी कुनै पनि बलरले विकेट लिन सकेनन् । चाहलले चार ओभरको बलिङ कोटामा २८ रन खर्चेर दुई विकेट लिए । सुरुआतदेखि संयमित रहेका धवनले अविजित रहँदै ४२ बलमा ५० रन प्रहार गरे । धवनले चार चौका र दुई छक्का प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गु्माउँदै १ सय ६६ रन जोड्यो । क्रिस गेल र कप्तान विराट कोहली मिलेर पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरे पनि रभि भोपराले पारीको मध्यमा मन्दिप सिंह र विराट कोहलीलाई आउट गरे । यसअघि गेललाई प्रविण कुमारले २१ रनमा आउट गरेपछि बैंगलोरको पहिलो विकेटको साझेदारी टुटेको थियो भने करन शर्माले दिनेश कात्र्तिकलाई नौ रनमा आउट गरेका थिए ।
प्रतिक्रिया