साढे दुई लाखले खाए हात्तीपाइलेको औषधि

इलाम, १ वैशाख । यस वर्ष इलामका ८५ दशमलव ११ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि खाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय इलामले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा यस आर्थिक वर्ष पाँच प्रतिशत बढीले औषधि खाएका हुन् ।

यस वर्ष कुल दुई लाख ६५ हजार तीन सय ८६ जनालाई ओषधि खुवाउने लक्ष्य राखेकामा दुई लाख २५ हजार आठ सय ५३ जनाले खाएको जिल्ला स्वास्थ्य कार्यालयका सुपरभाइजर विमल बरालले जानकारी दिएका छन् । अघिल्लो आव ८० दशमलव प्रतिशतले मात्र औषधि खाएका थिए । त्यस्तै आव २०६८/६९ मा ७० दशमलव दुई प्रतिशत र ०६७/६८ मा ६६ दशमलव चार प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।
जनचेतनाको वृद्धिसँगै इलाममा बर्षेनी हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या बढ्दो छ । तीन नगरपालिकासहित ४३ वटा गाविसबाट आएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी दानाबारी र फुएतप्पामा सेवन गरेका छन् । सबैभन्दा कम गोदक र एकतप्पा गाविसमा सेवन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
६ वर्षे अभियानअन्तर्गत चारवर्षे अवधिमा इलाम जिल्लाले राम्रो प्रगति गर्दै आएको सुपरभाइजर बरालको भनाइ छ । हात्तीपाइले रोगविरुद्धको औषधि अब २०७३ साल अर्थात् दुई वर्षसम्म सेवन गर्नुपर्ने छ । यस वर्ष इलाम नगरपालिकामा ९० प्रतिशतले सेवन गरेको जनाइएको छ ।
हात्तीपाइले रोगबाट इलाममा ३० जना प्रभावित भएका छन् । ६ जनाको खुट्टा सुन्निएको जनाइएको छ । हात्तीपाइले रोगको औषधि २ वर्षमुनिका बच्चा, गर्भवती महिला, दीर्घ रोगी तथा ७० वर्षमाथिका वृद्धवृद्धाले भने सेवन गरेनन् ।

प्रतिक्रिया