महत्त्वपूर्ण खेलमा विवादै विवाद

tendi-sherpaइन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा राज्यको आठ करोड रुपियाँभन्दा बढी लगानी भएको थियो । राज्यले सूचीकृत गरेका दुई सय तीन खेलाडी सहभागी थिए । सबै पदकविहीन बने । अन्त्यमा राज्यबाट रोक्न खोजिएकी, राज्यले सिर्जना गरेको बाधा अड्चन पार गर्दै सहभागिता जनाएकी र राज्यको कुनै सुविधा उपयोग नगरेकी विमला तामाङले महिला एकल कातामा काश्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट बचाइन् । संसारकै खेलकुद क्षेत्रमा अस्वाभाविक मानिने यो घटना नै वर्ष ०७१ मा नेपाली खेलकुदमा सबैभन्दा चर्चाको विषय बन्यो । विमलाले जितेको पदक नै नेपाली खेलकुदमा रहेका राजनीतिक व्यक्तित्वको नैतिकता मापनका लागि पर्याप्त बनेको थियो ।

त्यसो त एसियाडलगत्तै बालाजु कराते एकडेमीले आयोजना गरेको कार्यक्रममा सभासद् टोपबहादुर रायमाझी र लक्ष्मण राजवंशीले संसद्मा यो कुरा उठाउने प्रतिबद्धता जनाए पनि खेलकुदमा राजनीतिक गैरजिम्मेवारीपन र अनैतिकताको प्रश्न त्यत्तिकै सेलायो । राजनीतिक नेतृत्वको नैतिकतामाथि फेरि अर्को प्रश्न खडा भयो ।

त्यसो त थाइल्यान्डको फुकेटमा भएको एसियाली बिच खेलकुदमा सहभागिता जनाएको कारण साम्बो संघमाथि नै कारबाहीको धम्की दिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले त्यसै प्रतियोगितामा पदक जितेकी भगवती माझीलाई सम्मान गरे ।

विवादमा रुमल्लिने नेपाली खेलकुद ०७१ मा त्योभन्दा फरक रहन सकेन । जित, उत्साह, रोमान्स र सनसनीपूर्ण नतिजाभन्दा बढी विवाद र आर्थिक अनियमितता बितेको वर्षका सबैभन्दा चर्चित घटना बने । हार र जितकै चर्चा गर्दा हरेक विवादित विषयमा राज्य पक्षको हार भयो भने राज्यको खेल निकायमा रहने हरेक व्यक्तिको नैतिकतामाथि बारम्बार प्रश्न उठिरह्यो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)मा रहेको ५८ करोड रुपैयाँको आर्थिक अनियमितताको विषय अख्तियार र संविधानसभाको सार्वजनिक लेखा समितिसम्म पुग्यो । सुरुआतमा एन्फा अध्यक्ष थापाप्रति आलोचक देखिएको लेखा समिति अन्तत: मौन रह्यो भने अख्तियारबाट पनि उनीमाथि कारबाही भएन । नेपाली फुटबलमा आफू अप्ठ्यारोमा पर्दा विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धको हवाला दिने गरेका गणेश थापालाई फिफाकै इथिक कमिटीले फुटबलबाट टाढा पुर्‍यायो ।

सुरुआतमा १२० दिन फुटबल गतिविधिमा संलग्न नहुन थापालाई सर्कुलर गरेको इथिक कमिटीले त्यो अवधि पूरा हुनेबित्तिकै ९० दिनका लागि यसै खाले सर्कुलर जारी गर्‍यो । लेखा समितिले छानबिनको दायरामा राखेकै समयमा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई नै कार्यवाहक दिएर थापाले फुटबलमा आफ्नो पकड यथावत राख्ने प्रयास गरे ।

राज्य पक्षको लाचारी यतिमा नै सीमित भएन । भ्रष्टाचारमा लिप्त नेपाल क्रिकेट संघ(क्यान)का बहुमत सदस्यले टिबी शाहलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरे पनि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले क्याबिनेटबाट क्यान विघटन गर्दै विनयराज पाण्डेलाई अध्यक्ष बनाउने निर्णय गरे । न्यायपालिकाले त्यो निर्णयलाई बदर गरेपछि खेलकुदमा राज्यपक्षको हारको श्रृंखला कायम रह्यो ।

त्यसो त यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा विनाजानकारी २५ तोला सुन साथमा भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिए । उनले त्यसै दिन पत्रकार सम्मेलन गर्दै आफूले पहिलेदेखि नै लगाएको सुनको आधारमा गिरफ्तार गरिएको दाबी गरे ।

टेनिसमा सनसनी

सात वर्षअघि सुरु भएको जुनियर टेनिस इन्सेटिभ (जेटिआई) परियोजनाको प्रभाव यसै वर्ष देखिन थाल्यो । कतारमा भएको एसियन जुनियर टेनिसमा नेपाल तेस्रो स्थान हात पार्न सफल भयो । प्रतियोगितामा नेपालले तल्लो वरीयताबाट खेल्न सुरु गरेको थियो । यसलगत्तै भियतनाममा भएको जुनियर प्रतियोगितामा एनी माथेमा सेमिफाइनलमा प्रवेश गरिन् । मलेसियामा भएको विश्व जुनियर एसिया ओसियाना समूहको खेलमा नेपालका इरा राउत र अल्सा रेग्मीको जोडी सेमिफाइनलमा प्रवेश गर्‍यो ।

थाइल्यान्डमा भएको आइटिएफ ए टिएफ जुनियर टेनिसको जुनियर टुमा सहभागिता जनाएका संरक्षक भूषण बज्राचार्य बढुवा हुँदै डिभिजन वानमा प्रवेश पाउन सफल भए । यस बीचमा भारतमा भएको प्रतियोगितामा नेपालका मायन्का राणा र माहिका राणाले सहभागिता जनाए । नेपाल टेनिस संघका अध्यक्ष मनोज राणा उत्साही हँुदै भन्छन्, ‘खेलाडीको मिहिनेत र परिश्रमका साथै प्रशिक्षकको लगन, अभिभावकको त्याग र आइटिएफको सहयोगको कारण यी सबै सम्भव भएको हो ।’

फुटबलमा विवादै विवाद

लामो समयदेखि विवादमा रहने र कुनै उल्लेख्य परिणाम दिन नसक्ने फुटबल खेल यो वर्ष पनि त्यस्तै भयो । संघका उपाध्यक्ष विजयनारायण मानन्धर, कर्माछिरिङ शेर्पा, किशोर राई र सदस्य पंकज नेम्वाङले फुटबल संघमा आर्थिक अनियमितता भएको आवाज उठाएपछि यसको असर विश्व फुटबल महासंघ (फिफा)सम्म पुग्यो ।

५८ करोड रुपैयाँको आर्थिक अनियमितताको विषयमा छानबिन भइरहेको समयमा छानबिनकै दायरामा रहेका उपाध्यक्ष ललितकृष्णलाई कार्यवाहक अध्यक्षको जिम्मा दिँदा पनि राज्यका निकाय मौन रहे । छानबिन प्रक्रियालाई एन्फा नेतृत्वले ठाडो चुनौती दिएको एकथरी बताउँछन् ।

फिफाबाट १२० दिनको प्रतिबन्ध लाग्नुअघि फुटबल संघमै पत्रकार सम्मेलन गरेर आफू टाढा रहेको निर्णय गरेका गणेश थापाले त्यसै दिन एमाले मुख्यालय बल्खु तथा राखेप गरी दुई ठाउँमा भेटवार्ता गर्दै पत्रकार सम्मेलनको आयोजना गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । हाल फुटबल संघका अध्यक्ष थापा फिफाको इथिक कमिटीले जारी गरेको ९० दिने प्रतिबन्धको सामना गरेर बसेका छन् ।

विगतमा खेलकुदमा राजनीतिकरणको विरोध गर्ने तथा फिफाको बलियो साथको अवाला दिने थापा नेतृत्व यो वर्ष दुवै कुरामा चुक्न पुग्यो । जिम्मेवार संघ अध्यक्ष हुनुका बाबजुद संविधानसभा सदस्य भएर उनी प्रत्यक्ष रूपमै राजनीतिमा होमिए भने इथिक कमिटीको निर्णयपछि फिफामा उनको प्रभाव कमजोर बनेको पुष्टि भएको छ । उमेर समूहको प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएको कारण नेपाली फुटबलले कारबाहीको सामना पनि गर्‍यो ।

भलिबलमा सफलता

भलिबलको महिला स्पर्धामा नेपाली टोली यो वर्ष सफल भयो । काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली महिला च्याम्पियनसिपमा भारतभन्दा पछि रहँदै नेपाल दोस्रो भयो । यसै गरी माल्दिभ्समा भएको फेज टुको खेलमा सफलता पाउँदै नेपाली टोली फेज वानमा प्रवेश गर्‍यो ।

यी सफलताका बाबजुद आफ्नो आन्तरिक कारण एसिया प्यासिफिक बिच भलिबल आयोजनाको अवसर गुमाउनु नेपालका लागि दुखद् रह्यो । भलिबल निकट श्रोत भन्छन, ‘अन्तर्राष्ट्रिय निकायले यो अवसर नेपाललाई दिइसकेको थियो । तर, संघ यस कुरामा एकमत हुन नसकेका कारण अवसर गुम्यो ।’

गल्फ संघ युवा परियोजनामा सक्रिय

नेपालका व्यावसायिक गल्फरहरूले अन्तर्राष्ट्रिय सहभागितामा राम्रो प्रदर्शन गर्न नसके पनि एमेच्योर खेलाडीहरूको प्रदर्शनमा धेरै सुधार भए । वि.सं. ०७१ सालमा नेपालमा गल्फका केही अन्तर्राष्ट्रिय खेलहरू भए । नेपाल एमेच्योर खुला गल्फमा विकास बोगटी व्यक्तितर्फ उपविजेता भए भने नेट तर्फ अरुण तामाङ पहिलो भए । नेपालले बंगलादेशमा भएको एमेच्योर गल्फमा पनि सहभागिता जनाए पनि खासै राम्रो नतिजा भने हात पार्न सकेन । जुनियर खेलाडी उत्पादनमा सक्रिय रहनु गल्फको सबैभन्दा सकरात्मक पाटो बन्यो ।

एथलेटिक्समा नयाँ नेतृत्व

एथलेटिक्सले यसै वर्ष राजीवविक्रम शाहको नेृतत्वमा नयाँ नेतृत्व पायो । आफू राखेपकै सदस्य–सचिव भएको समयमा युवराज लामाले विघटन गरेर निलेन्द्रराज श्रेष्ठलाई अध्यक्ष बनाए पनि अन्तत: आफ्नो कार्यकालमा दुवै पक्ष मिलाउँदै साधारणसभा गराए । साधारणसभामा राजीवले रविराज कर्णीलाई पराजित गर्दै अध्यक्षको जिम्मेवारी वहन गरे । एसियन गेममै नेपालमा नभएका खेलाडीको सहभागिता पछि एथलेटिक्स पनि विवादमा रुमलियो ।

रमेस र फुपूको सन्तोषजनक प्रदर्शन

यो वर्ष नेपाली जुडोले दुई ठूलो प्रतियोगितामा सहभागिता जनायो । रुसमा भएको विश्व च्याम्पियनसिपमा सरोज महर्जन र लिला अधिकारीले सहभागिता जनाए भने इन्चोन एसियाडमा सरोजसहित श्रीराम मकाजू, राजन जोशी, रमेस मगर, देविका खड्का, गंगा चौधरी र फुपूल्हामु खत्रीले सहभागिता जनाए । रमेस मगर र फुपूल्हामु खत्री एसियाडको कुनै पनि खेलमा पूरा समय रिङमा टिक्ने पहिलो नेपाली बने । यो नै जुडोको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि बन्यो ।

एसियन बिच गेममा साम्बोको उपस्थिति

नेपाली खेलकुदमा साम्बो खेल प्रवेश भएको धेरै भएको छैन । तर, यसै वर्ष भएको एसियाली बिच खेलकुदमा साम्बोकी भगवती माझीले पदक जितेपछि साम्बो सबैका लागि परिचित खेल बन्यो ।

करातेमा दुई शक्ति यथावत

इन्चोन एसियाड मात्र होइन । यो वर्षको खेलकुदमा डब्लुकेएफबाट मान्यता प्राप्त कराते महासंघ र राष्ट्रिय मान्यताप्राप्त कराते महासंघको कारण कराते दुई चिरामा यथावत रह्यो । जर्मनीमा भएको विश्व कंग्रेसमा लाखे नेतृत्वको प्रतिनिधित्व गर्दै बिआर मित्रले सहभागिता जनाए । अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डब्लु के एफबाट मान्यता प्राप्त कराते महासंघकै उपस्थिति रह्यो । तथापी, राज्यभित्र यो समूह मौन रह्यो । करातेको यसै विवादका कारण देशभित्र राष्ट्रिय स्तरको प्रतियोगितामा राष्ट्रिय रेफ्रीकै हालीमुहाली रह्यो भने एकेएफ रेफ्री सामान्य प्रतियोगितामा सीमित भए ।

प्रतिक्रिया