तेक्वान्दोमा दैवी विपत्ति

tekwandoबाबा ‘तपाईं कति वर्षमा राष्ट्रिय खेलाडी हुनु भएको ? म तपाईं जस्तो २५/३० वर्षमा राष्ट्रिय खेलाडी हुने हो र ? १५ वर्षमा त यो कोठा पदक नै पदकले भरिदिन्छु ।’ ब्वाइज युनियन तेक्वान्दो क्लबका राजेन्द्र केसीलाई छोरा दिलीप केसीका यी नै प्रश्नले बारम्बार झस्काइरहन्छ । आफैले आफैलाई सम्हाल्न कठिन हुन्छ ।

तेक्वान्दोका जुनियर राष्ट्रिय खेलाडी १३ वर्षीय दिलीप दोस्रो डान थिए । कम उमेर भएका कारण तेस्रो डानका लागि केही समय रोकिएका थिए । उनी फुटबल पनि राम्रो खेल्थे ।

सेतो युनिफर्म भित्र अनुशासित जीवनयापन बिताउने कसममा बाबु र छोरा उत्तिकै प्रतिबद्ध थिए । राजेन्द्र गर्वसाथ भन्ने गर्थे, ‘छोरो होस् त मेरो जस्तो ।’

फागुन २२ गतेको दिन राति एक्कासी तेक्वान्दोको वृत्तमा हल्लीखल्ली मच्चियो । ‘राजेन्द्र गुरुका छोरा दिलीप रहेनन् ।’ चिकित्सकका अनुसार उनमा रेबिजको लक्षण देखिएको राजेन्द्रका दाजु बद्रीले बताएका थिए ।

फागुन २३ गते काठमाडौंमा महिला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भइरहेको थियो । सबै शोकाकुल थिए । एउटा ठूलो समूह राजेन्द्रलाई परेको आपत्तिमा सहयोगमै तल्लीन थिए । सबै डोजाङ प्रमुख आर्थिक सहयोग जुटाउन तल्लीन थिए । राजेन्द्रप्रति कसरी सद्भाव राख्ने भनेर राष्ट्रिय टोलीकी कप्तान मनिता शाही दिलचस्पीका साथ लागेकी थिइन् । ।

त्यही दिन राजेन्द्रले पशुपति आर्यघाटमा जीवनको सबैभन्दा प्रिय व्यक्तिलाई सधँैका लागि बिदा गरे । तथापी, यो कठोर घडीमा एउटा प्रणका साथ जीवन अघि बढाइरहेका छन् केही उद्देश्यका साथ । छोराका नाममा ट्रस्ट खोल्ने, तेक्वान्दोमै आफूलाई समर्पित गर्ने जहाँ उनी आफूलाई हरेक शिष्यको अभिभावक ठान्न सक्छन् । जीवनमा आइपरेको ठूलो चोटको पीडा सहँदै राजेन्द्रको दिनचर्या फेरि उही ब्वाइज युनियन तेक्वान्दो डोजाङमै बितिरहेको छ, जहाँका हरेक उत्कृष्ट खेलाडीको मुहारमा उनले दिलीपको प्रतिविम्ब भेट्ने छन् ।

यो वर्ष तेक्वान्दो वृत्तले भोगेको यो मात्रै दुखद् घटना भने होइन । साउन महिनाको मुसल धारे वर्षा र बाढीले ललितपुरका एक तेक्वान्दोकर्मीलाई सँगै लिएर गएको थियो । दक्षिण ललितपुरका सोनाम घलानले यसै वर्ष आएको बाढीका कारण ज्यान गुमाए । अनुशासीत समाज निर्माणको प्रतिबद्धतामा लागेको एउटा ठूलो जमातले यो वर्ष दुई ठूला विपत्तीको सामना गर्‍यो ।

यी दुई विपत्तीका बाबजुद नेपाली तेक्वान्दोले यो वर्ष केही पायो पनि । नेपाली खेलकुदकी शीर्ष व्यक्तित्व पूर्व एसियन च्याम्पियन संगीना वैद्यको उत्कृष्टतालाई राज्यले स्वीकार गर्‍यो । संगीनाले १५ लाख रुपियाँ पुरस्कार पाइन् । प्रशिक्षकको रूपमा जिम्मेवारी पूरा गरिसकेका दीपक विस्टले यसै वर्ष खेलाडी जीवनबाट सन्यासको घोषणा गरे ।

प्रतिक्रिया