काठमाडौं, १ वैशाख । ताइवानमा आयोजना हुने प्रथम एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालको सहभागिता निश्चित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ र नेपाल पारा तेक्वान्दो संघको त्रीपक्षीय विवादका कारण प्रतियोगितामा नेपालको सहभागिता अनिश्चत रहेको थियो ।
१५ देखि १७ अप्रिलसम्म हुने प्रतियोगितामा नेपाली सेनाका हिरामणि अधिकारीले ४३ विधा (दुवै हातको अपांगता) अन्तर्गत ७५ केजी मुनिमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, अरुण शाक्यले ४४ विधा (एक हातको अपांगता) अन्तर्गत ७५ केजी मुनिमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक तथा पारा तेक्वान्दो खेलाडी यादव कुावरले जनाएका छन् ।
टोली नेतामा नेपाल तेक्वान्दो संघका सदस्य कासिम मियाा रहेका छन् ।
टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले विदाइ गरे भने विदाइ कार्यक्रममा संघका अध्यक्ष प्रकाश शमशेर राणा र महासचिव दिवराज गुरुङ पनिउपस्थित थिए ।
यसअघि विश्व तेक्वान्दो महासंघले नेपाल तेक्वान्दो संघलाई प्रतियोगितामा सहभागिताका लागि पत्राचार गरे पनि परिषद्ले तेक्वान्दो संघमार्फत नभई नेपाल पारा तेक्वान्दो संघमार्फत प्रक्रिया अघि बढाउन चाहेपछि विवाद बढेको थियो ।
आइतबार मात्र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले परिषद्ले अन्योल सिर्जना गरेका कारण सहभागिता अनिश्चित रहेको प्रतिक्रिया दिएका थिए । यसै महिना भएको पारा तेक्वान्दो संघको साधारण सभामा सदस्य सचिव युवराज लामाले तेक्वान्दो संघ अनुदार भएको प्रतिक्रिया दिएका थिए ।
जनार्दन ढुंगेल केसीको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद्मा नेपाल पारा तेक्वान्दो संघ दर्ता भएपछि संघले जनार्दनलाई कार्यसमितिबाट बर्खास्त गरेको थियो । साथै, संघले पारा तेक्वान्दो समितिको संयोजकको जिम्मेवारी श्याम डंगोललाई दिएको थियो ।
ग्लोबल एथलेट लाइसेन्स भएकाले खेल्न र ग्लोबल अफिसियल लाइसेन्स भएकाले मात्र प्रतियोगितामा प्रशिक्षक र अफिसियल हुन पाउने व्यवस्था डब्लुटिएफले गरेको छ ।
डब्लुटिएफको अफिसियल प्रतियोगिता भएका कारण संघलाई पार गर्दै अघि बढ्न सक्ने अवस्था नै नरहेको महासचिव गुरुङले बताए । नेपाल पारा तेक्वान्दो संघका महासचिव अच्युतम लामिछानेले खेलाडीको सहभागितामा हाफू सकरात्मक भए पनि विनाबिबाद सहभागिताको चाहना गरेको बताए ।
परिषद्ले सम्बन्धित खेलका विश्व महासंघलाई बेवास्ता गर्दै प्रभाव पार्न खोजेको यो नै पहिलोपटक भने होइन । गत इन्चोन एसियाडमा परिषद्ले विघटन गरेको नेपाल कराते महासंघको पहलमा सहभागिता जनाएकी विमला तामाङले पदक जितेकी थिइन् ।
त्यसैगरी, थाइल्यान्डको फुकेटमा भएको एसियनबिच खेलकुदमा सहभागिता जनाएका कारण सदस्य सचिव लामाले साम्बो संघलाई कारबाहीको चेतावनी दिएका थिए । सो प्रतियोगितामा पनि परिषद्को चेतावनीको बाबजुद सहभागिता जनाएकी भगवती माझीले पदक जितेकी थिइन् । बिच खेलमा पनि नेपालले जितेको त्यो नै एउटै पदक थियो ।
प्रतिक्रिया