मंगलबारेमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

इलाम, २९ चैत । इलामको पश्चिमी क्षेत्रको मुख्य व्यापारिक केन्द्र मंगलबारे बजारमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

वैशाख ५ गतेदेखि सञ्चालन हुन लागेको ‘लन्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकप–२०७२’कोे तयारी तीव्र पारिएको आयोजक समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । पश्चिमी क्षेत्रलाई खेलकुदका माध्यमबाट थप पर्यटन विकासमा अगाडि बढाउने उद्देश्यले स्थानीय त्रिवेणी युथ क्लब र मंगलबारे उद्योग वाणिज्य संघले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगितामा पूर्वाञ्चलका इलाम, झापा, पाँचथर, धरान, धनकुटा, मोरङ तथा भारतको सिक्किम र दार्जिलिङका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । खेल स्थानीय भानुभक्त उच्च माध्यमिक विद्यालयको मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११, उपविजेताले ६१ हजार १११ रुपैयाँ सेमिफाइनबाट बाहिरिने २ टिमले १५÷१५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई ५–५ हजार नगद, मेडल र प्रमाणपत्र दिइनेछ ।

तेस्रो संस्करणको यसपटकको प्रतियोगिताका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । आयोजकले अघिल्लो वर्षको प्रतियोगिताबाट बचेको ३ लाख रुपैयाँ र मुख्य प्रायोजक लन्डन आइसले ८० हजार रुपैयाँ खर्च गर्ने भएको छ । प्रतियोगिता १३ वैशाखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया