रोयल च्यालेन्जर्स र चेन्नाई सुपर किङ्सको जित

iPL

 

 

 

 

 

 

काठमाडौं, २९ चैत । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)अन्तर्गत शनिबार राति भएका खेलमा रोयल च्यालेन्जर्स बैङ्लोर र चेन्नाई सुपर किङ्सले जित हात पारेका छन् ।

चेन्नाईले लगातार दोस्रो जित हात पार्ने क्रममा सनराइजर्स हैदराबादलाई पाखा लगायो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले सनराइजर्स हैदरावादलाई ४५ रनले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल स्कोर खडा गरेको थियो ।

चेन्नाईका लागि ओपनर ब्रेन्डन म्याक्कुलमले अविजित १०० रन जोडे । उनले ५६ बलमा ७ चौका र ९ छक्का प्रहार गरे । चेन्न्नाईका कप्तान महेन्द्रसिंह धोनीले ५३ रन र ड्वान स्मिथले २७ रनको योगदान दिए ।

२१० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन मात्रै जोड्न सक्यो । हैदरावादका लागि डेभिड वार्नरले ५३, शेखर धवनले २६, काने विलियम्सनले २६, रवि भोपाराले २२ र नमन ओझाले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसैगरी, अर्को खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरले कोलकाता नाइट राडर्सलाई ३ विकेटले पाखा लगायो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  कोलकाताका लागि कप्तान गौतम गम्भिरले ५८, आन्दे्र रसले ४६ र रोविन उथप्पाले ३५ रन जोडेका थिए ।

जवाफमा बैङ्लोरले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । बैङ्लोरका लागि आक्रामक ब्याट्सम्यान क्रिस गेलले ५६ बलमा ९६ रनमा रनआउट हुनुअघि टिमलाई जितनजिक पुर्याएका थिए । उनले ५६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे ।

प्रतिक्रिया