मुगुका बालबालिका कुपोषणको जोखिममा

Mugu District Nepalमुगु, २८ चैत । मुगु जिल्लाका बालबालिका कुपोषणमा उच्च जोखिममा रहेको देखिएको छ ।

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमअन्तर्गत जिल्लाका २४ वटै गाविसमा सञ्चालनमा रहेको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमको संयुक्त अनुगमनपछि मुगुका बालबालिकामा यस्तो अवस्था देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा भक्तदेव श्रेष्ठले बताए ।

नेपालभरिकै तथ्याङ्क हेर्दा मुगुका बालबालिकाको कुपोषित दर ४० प्रतिशत रहेको डा श्रेष्ठले बताए । उनले भने, “अहिले जिल्लाभित्रको अवस्था हेर्दा कुपोषित बालबालिकाको प्रतिशत २० छ भने गर्भवती महिलाको रक्त अल्पता हुने दर २४ प्रतिशत रहेको छ ।

मुगुका गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सुत्केरीपछि उच रक्त अल्पता देखिने गरेको र बालबालिकामा कुपोषणको अवस्था पनि भयावह देखिएको जिल्ला अस्पतालको भनाइ छ ।

गएको जेठ महिनादेखि जिल्लामा रहेका छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती महिला तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त सर्वोत्तम पिठो वितरण गरिँदै आएको छ ।

यसरी पोषणयुक्त पिठो वितरण गर्दा सम्बन्धित स्वास्थ्य चौकीमा गर्भवती महिला र बालबालिकाको स्वास्थ्य जाँचपछि अवस्था हेरेर पिठो दिइने गरेको कार्यक्रमको सहजीकरण गरिरहेको सप्रोस नेपाल मुगुले जनाएको छ ।

स्वास्थ्य जाँचसँगै परामर्श सेवापछि पिठो वितरण गर्ने गरिएको बताइए पनि अझै पनि सर्वोत्तम पिठो खाने र बनाउने विधिबारे ज्ञानको कमी रहेको पाइएको छ ।

गर्भवती महिला र बालबालिकालाई प्रयोग गर्ने गरी पिठो वितरण गरे पनि घरका सबै अभिभावक र ठूला मान्छेले खाने गरेकाले अभिभावकलाई पिठो प्रयोग गर्ने र बनाउने विधिका विषयमा जनचेतना प्रदान गर्नुपर्ने स्थानीय सेवाग्राही शारदा हमालले बताइन् ।

गाउँघरका गर्भवती आमा तथा बालबालिकाको शारिरिक तथा मानसिक विकास र स्वस्थ राख्न सरकार र दातृ निकायले ठूलो लगानी गर्दै आएकाले यो लगानीको अभिभावकले सदुपयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

जेठदेखियता इलाका स्वास्थ्य चौकी श्रीनगरमा मात्र दुई हजार ८५ मेट्रिक टन पौष्टिक आहार वितरण गरिएको र यसबाट १८९ गर्भवती महिला, १४५ सुत्केरी महिला, ७५४ जना २३ महिनासम्मका बालबालिका लाभान्वित भएका छन ।

यसैगरी जिल्लाभरिमा ४५ हजार ६७८ मेट्रिक टन पौष्टिक आहार वितरण गरेको सप्रोस नेपालले जनाएको छ ।

प्रतिक्रिया