काठमाडौं । सुरशाला म्युजिक एकेडेमीले मुलुकमै पहिलोपटक राष्ट्रव्यापी गायन प्रतिस्पर्धा ‘सुरशाला युट्युब आइडल–२०७२’ आयोजना गर्ने भएको छ ।
७ देखि १६ वर्षसम्मका बालबालिकादेखि किशोर–किशोरीसम्मलाई प्रतिस्पर्धा गराइने यो प्रतियोगितालाई ‘राष्ट्रव्यापी अन्तर–विद्यालय युट्युब गायन प्रतियोगिता’का रूपमा सञ्चालन गर्न लागिएको सुरशालाका निर्देशक अमृत छेत्रीले बताए । उनका अनुसार अडिसनमा सहभागिता जनाउन इच्छुकले आफूलाई मन पर्ने नेपाली गीत गाएको भिडियो रेकर्डिङ गर्नुपर्नेछ । ३ मिनेट अवधिको उक्त भिडियोसँगै आफ्नो नाम, विद्यालयको नाम तथा सम्पर्क नम्बर खुलाउनुपर्नेछ । अडिसनका लागि वैशाख मसान्तसम्म भिडियो पठाइसक्नुपर्ने उनले बताए ।
दुई चरणबाट छनोट गरिने ५० प्रतिभालाई १५ दिने तालिम दिइनेछ । प्रशिक्षणकै क्रममा उत्कृष्ट ३०, उत्कृष्ट १५, उत्कृष्ट १०को छनोट गरिने छ । उत्कृष्ट १० प्रतिस्पर्धीलाई दर्शक सहभागितासहितको ग्रान्ड फिनालेमा प्रस्तुत गर्दै युट्युब आइडल घोषणा गरिने सुरशालाले जनाएको छ ।
असारको अन्तिम साता सम्पन्न हुने ग्रान्ड फिनालेमार्फत उपाधि विजेताले १ लाख ५० हजार रुपैया बराबरको गायन विषयमा ३ वर्षे डिप्लोमाको छात्रवृत्ति पाउनेछ ।
प्रतिक्रिया