हँसाउन आउँदै ‘रेशम फिलिली’

Resham-Filili

काठमाडौं । प्रेमकथा र ग्याङस्टार शैलीका चलचित्रले दर्शकलाई एकाग्र बनाइरहँदा वैशाख दोस्रो साता कमेडी फ्लेभरको ‘रेशम फिलिली’ प्रदर्शनमा आउने भएको छ । वैशाख ११ गतेदेखि देशभर रिलिज हुन लागेको यो चलचित्रको गीत ‘जालैमा’ युट्युबमा सर्वाधिक हिट बनेको छ ।

चलचित्र निर्माण युनिटले राजधानीमा गरेको पत्रकार सम्मेलनमा निर्माता माधव वाग्लेले चलचित्रको प्रिमियर ‘रोज फाउन्डेसन’ नामक संस्थाको च्यारिटीका लागि गरिने जानकारी दिए । ‘प्रिमियरबाट उठेको रकम फाउन्डेसनमार्फत बालबालिकालाई शैक्षिक सहयोग गर्नेछौं,’ निर्माता वाग्लेले भने, ‘फिल्मले मनोरञ्जन मात्र होइन, सामाजिक काममा पनि सहयोग पुग्छ भन्ने उदाहरण बन्न चाहन्छौं ।’

अभिनेता विनय श्रेष्ठले यस चलचित्रले कमेडीसँगै सामाजिक कथा पनि बोकेको उल्लेख गर्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । लेखक तथा निर्देशक प्रणव जोशीले काठमाडौंमा हन्डर खाएर आजित बनेका २ युवा रेशम र हरियाको दुःख–सुख, मित्रता र संघर्षलाई मनोरञ्जनात्मक किसिमले प्रस्तुत गरिएको बताए ।

चलचित्रमा विनयका साथै मेनुका प्रधान, कर्मा, कामेश्वर चौरासिया, आशुतोष श्रेष्ठ, अरुण रेग्मी, लक्ष्मी गिरी र शिशिर वाङ्देललगायतको अभिनय छ ।

प्रतिक्रिया