बिपी प्रतिष्ठानमा लागेको ताला अझै खुलेन

BPKHISइटहरी, २७ चैत । छ दिनअघि केही कर्मचारीले आवेगमा आएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य चार पदाधिकारीको कार्यकक्षमा लगाएको ताला अझै पनि खुल्न सकेको छैन ।

प्रतिष्ठानको जिम्मेवार पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाको असर बिरामीको उपचारमा देखिन थालेको छ ।

प्रतिष्ठानमा दैनिक हजारभन्दा बढी बिरामी थप उपचारका लागि भर्ना हुने हुँदा उनीहरूका लागि आवश्यक पर्ने औषधि, उपकरणलगायत वस्तु तत्काल खरिद गर्न नसक्ने परिस्थिति सिर्जना भएपछि बिरामीको उपचारमा समस्या आउन थालेको छ ।

आफूहरूलाई प्रतिष्ठानको कर्मचारी तदर्थ समिति भनाउने कर्मचारीले गैरजिम्मेवार भएर क्षणिक आवेगमा प्रतिष्ठानका उपकुलपति प्राडा बलभद्रप्रसाद दास, शिक्षाध्यक्ष प्राडा विक्रम श्रेष्ठ, रजिष्टार तुलबहादुर श्रेष्ठ र अस्पताल प्रमुख प्राडा अरविन्दकुमार सिन्हाको कार्यकक्षमा ताला लगाइएपछि प्रतिष्ठानका लागि दैनिक चाहिने आवश्यक सामग्री खरिद हुन नसकेको हो ।

प्रतिष्ठानका उपकुलपति प्राडा दासले कर्मचारीले सामान्य मर्यादाको समेत ख्याल नगर्नाले कर्मचारीले तलब खाने र बिरामीका लागि आवश्यक पर्ने औषधि उपकरण खरिद गर्नसमेत नसकिएको बताए ।

कर्मचारी र सर्वसाधारण सेवाग्राही जनताप्रति उदासिन बनेर राजन कोइरालाको समूहले प्रतिष्ठानको जिम्मेवार पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलाउने विषयमा स्थानीय पशासनले समेत खासै चासो नराखेका कारणले तालाबन्दी गर्ने कर्मचारीहरूमा जे गरे पनि हुन्छ भन्ने मानसिकता बढिरहेको पाइएको गुनासो बढ्न थालेको छ ।

प्रतिष्ठानको आधिकारिक कर्मचारी कल्याण मञ्चका अध्यक्ष सुजेन्द्र तामाङले अनावश्यक ढङ्गले गरिएको तालाबन्दीप्रति आपत्ति जनाउँदै कर्मचारीका सम्पूर्ण समस्या समाधान नजिक पुगेको अवस्थामा अनावश्यक झमेला निकालेर प्रतिष्ठानको हित प्रतिकूलको कार्य गरेको भन्दै विरोध गरे ।

प्रतिक्रिया