इबोलाको पहिचान ११ मिनेटमै

Ebolaटोकियो, २६ चैत । जापानी अनुसन्धानदाताहरुको एक समूहले इबोला सङ्क्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्न सकिने गरी पत्ता लगाएका छन् ।

चिकित्सा विज्ञान क्षेत्रका ती अनुसन्धानदाताहरुले विगत लामो समयको लगातारको अनुसन्धानबाट यो सफलता प्राप्त भएको जानकारी बिहीबार राजधानी टोकियोमा दिएका हुन् ।

उनीहरुले यसका बिरामीमा गरिएको परीक्षणबाट यो तथ्य पत्ता लगाएको जनाएका छन् । यसअघि यही परीक्षणका लागि कम्तीमा पनि ९० मिनेट लाग्ने गरेकामा हाल आएर त्यसमा ठूलो सफलता मिलेको उनीहरुको भनाइ छ ।

नागासाकी विश्वविद्यालयको मेडिकल विभागले सो अनुसन्धान गरेको हो । अनुसन्धानबाट निस्किएको तथ्यकाबारेमा उनीहरुले बिहीबार राजधानी टोकियोमा प्राध्यापक जिरो यासुदाले जानकारी दिए ।

उनले भने, ‘यो परीक्षणको समय अनपेक्षित नै छोटो हुन पुग्यो । यसको परीक्षण यसअघि पनि हामीले निकै लामो समय लगाएर गरेका थियौँ, अब यो छोटै अवधिमा यसका किटाणु पत्ता लाग्ने भएकाले सजिलो हुनेछ ।’

गुएनामा रहेर सो अनुसन्धान समूहले यस नयाँ तथ्य पत्ता लगाएको प्राध्यापक जिरोले बताए । प्राध्यापक जिरोले गत महिना गुएनामा १०० जना बिरामीमा गरिएको परीक्षणबाट यो अनुसन्धान गरिएको बताए ।

यो सफलतापछि गुएना सरकारले अनुसन्धानपछि प्राप्त भएको प्रविधि उपलब्ध गराइ सहयोग गर्न अनुरोध गरेको छ ।

सन् २०१३ को डिसेम्बर महिनामा पश्चिमी अफ्रिकी राष्ट्रहरुबाट सुरु भएको सो सङ्क्रमणका कारण हालसम्म कम्तीमा पनि १० हजार नागरिकको ज्यान गएको छ ।

प्रतिक्रिया