रमिलाले रोजिन् अन्ततः आर्मी क्लब

Ramila-tandukar

काठमाडौं, २५ चैत । भलिबलका उत्कृष्ट स्पाइकर रमिला तन्डुकारले न्यु डाइमन्ड क्लब छाडेकी छन् । रमिलाले आर्मी क्लबसँग सम्झौता गरेका कारण न्यु डायमन्ड छाडेकी हुन् ।

आर्मीका खेलकुद विभाग प्रमुख रामकाजी राना मगरले रमिलासँग १ वर्षका लागि सम्झौता गरेको जानकारी दिएका छन्  । उनका अनुसार रमिलाले आर्मीमा रहँदा मासिक १० हजार रुपैयाँका साथै अन्य सुविधासमेत प्राप्त गर्ने भएकी छन् ।

आर्मीको महिला टोलीले ४ महिनाअघि बुटवलमा भएको राष्ट्रिय प्रतियोगिताबाट भलिबल खेल्न सुरु गरेको थियो । यसअघि रमिलाले बुटवलमा सम्पन्न १९औं राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लबबाट खेले पनि उनले अन्ततः आर्मी क्लब नै रोजिन् ।

न्यु डायमन्डका प्रशिक्षक कुमार राईले भने रमिला बिनाजानकारी गएका कारण आफूलाई यसबारे केही थाहा नभएको प्रतिक्रिया दिए ।

न्यु डाइमन्डबाट ७ वर्षअघि भलिबल करिअर सुरु गरेकी रमिलाले नेपाली भलिबलमा सफलता हात पार्दै एनएसजेएफ पल्सर स्पोर्ट अवार्डको लोकप्रिय वर्ष खेलाडी, नेपाल भलिबल संघको वर्ष खेलाडी र ढोरपाटन डबल लिग महिला भलिबलमा ३ पटक उत्कृष्ट खेलाडीलगायत थुप्रै पुरस्कार हात पारिसकेकी छन् ।

प्रतिक्रिया