काठमाडौं । फिल्म निर्देशक स्वर्गीय आलोक नेम्बाङको अन्तिम फिल्म ‘अझै पनि’को पहिलो च्यारिटी सम्पन्न भएको छ ।
काठमाण्डू जेसिसले सोमबार साँझ राजधानीको दरबारमार्गस्थित क्यू.एस. सिनेमाजमा आयोजित च्यारिटी शोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने जनाएको छ ।
च्यारिटी शोमा फिल्मकी निर्माता पुनम गौतमसहित कलाकारहरु पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्काको उपस्थिति रहेको थियो । निर्मात्री गौतमले आफ्नो पहिलो फिल्म समाजका लागि बनाएको र यसले व्यापारिकभन्दा बढी सामाजिक सुशासनको महत्व रहेकाले च्यारिटीमा ध्यान दिएको बताइन् ।
नेपाल जेसिसका अध्यक्ष धननञ्जय श्रेष्ठले ‘अझै पनि’ सामाजिक कथामा बनेकाले जेसिस पनि समाजकै लागि काम गर्ने संस्था भएकोले च्यारिटी रोजिएको बताए ।
काठमाण्डू जेसिसका अध्यक्ष गणेश पौडेलले च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने जनाए ।
उर्जामन्त्री राधा ज्ञवालीले नेपाली फिल्म पनि विदेशी फिल्म जत्तिकै गुणस्तरीय बन्दै गएको दाबी गरिन् ।
पुनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल, रामशरण पाठक, मिथिला शर्मालगायतको अभिनय रहेको छ ।
रामशरण पाठकले लेखेको फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत र राजेश श्रेष्ठले छायांकन रहेको छ ।
प्रतिक्रिया