क्रिकेट खेललाई टेलिकमको साथ

काठमाडौं, २३ चैत । नेपाल टेलिकमले राष्ट्रिय सिनियर पुरुष र महिला टोलीलाई वार्षिक ८५ लाखबराबरको प्रायोजन गरेको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक अध्यक्ष दीपक कोइरालाबीच ३ वर्षका लागि प्रत्येक वर्ष नवीकरण गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि टेलिकमका प्रबन्ध निर्देशक आचार्यले क्रिकेट लोकप्रिय खेल भएकाले यस खेलको सफलताका लागि आफ्नो कम्पनीले प्रायोजन गरेको बताए। क्रिकेट राष्ट्रको पहिचान बोकेको खेल भएको हुँदा पनि यसको विकासका लागि सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

क्यानका कार्यवाहक अध्यक्ष कोइरालाले यस किसिमको सम्झौताले नेपाली क्रिकेट खेलको मात्र नभई खेलाडीको पनि हित हुने विश्वास व्यक्त गरे ।

क्यानले सिनियर राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रायोजन गरेको रकमको करिब २५ प्रतिशत भत्ताका रुपमा खेलाडीलाई दिनुपर्ने, अरु कुनै पनि संघसंस्थाले प्रायोजन गर्न नपाउने, टेलिकमको प्रायोजनमा क्यानले ट्वान्टी–ट्वान्टीको ढाँचामा क्रिकेट टुर्नामेन्ट सञ्चालन गर्नुपर्ने जसको नाम नेपाल टेलिकम च्याम्पियनसिप ट्रफी राखिनुपर्नेलगायतको विषयमा सम्झौता भएको छ । टेलिकमले क्यानलाई प्रतिवर्ष क्रिकेट प्रतियोगिता सञ्चालनका लागि ७० लाख उपलब्ध गराउने टेलिकमका व्यापार व्यवस्थापन विभागका नायब प्रबन्ध निर्देशक सुवासचन्द्र शाहले बताए।

प्रतिक्रिया