कमेडी भर्सेस यथार्थ

Garima-Pantaकाठमाडौं । पछिल्लो समयमा नेपाली दर्शकले कमेडी र यथार्थपरक फिल्म कमै हेर्न पाइरहेका बेला शुक्रबारबाट यस्तै फ्लेबरका दुई फिल्म प्रदर्शनमा आउँदै छन् । दुई युवाको संघर्ष समेटिएको कमेडी फिल्म ‘रेशम फिलिलि’ र सती प्रथालाई प्रस्तुत गरिएको फिल्म ‘झोला’ एकसाथ अल नेपाल रिलिज हुँदै छन् ।
हाल युट्युबमा सर्वाधिक भाइरल बनिरहेको गीत ‘जाल’मा समेटिएको कमेडी फिल्म ‘रेशम फिलिलि’का लेखक तथा निर्देशक प्रणव जोशी हुन् । फिल्मले काठमाडौंमा हन्डर खाएर आजित बनेका दुई युवा रेशम र हरियाको दुःख सुख, मित्रता र संघर्षलाई प्रस्तुत गरेको छ ।
भी मोसन पिक्चर्स र प्रिन्सेस मुभिजको व्यानरमा माधव वाग्लेले निर्माण गरेको फिल्ममा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा, कामेश्वर चौरासिया, आशुतोष श्रेष्ठ, अरुण रेग्मी, लक्ष्मी गिरी र शिशिर वाङ्देललगायतको अभिनय रहेको छ । फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, सुनिल न्यौपानेको सम्पादन र बाबु श्रेष्ठको छायांकन रहेको छ । फिल्मले बिहीबार क्यान्सरविरुद्ध काम गर्दै आएको संस्था रोज फाउन्डेसनको सहयोगार्थ प्रिमियर सोको आयोजना ग¥यो ।
यस्तै दुई वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘झोला’ पनि पुनः श्रोतामाझ आउन लागेको हो । साहित्यकार कृष्ण धराबासीको चर्चित उपन्यास ‘झोला’मा आधारित फिल्मले पति मरेपछि सती जाने प्राचिन प्रवृत्तिलाई पर्दामा प्रस्तुत गरेको छ ।
गरिमा पन्त, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाललगायतको अभिनय रहेको फिल्मका प्रस्तुतकर्ता उत्तमकुमार श्रेष्ठ हुन् भने फिल्ममा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशील शाहको पनि लगानी रहेको छ । यसै फिल्मबाट अभिनेत्री गरिमाले वर्ष २०१४ को ‘सार्क फिल्म फेस्टिभल’मा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । यो फिल्मले पनि बिहीबार च्यारिटी सो गरेको थियो । (सौस)

प्रतिक्रिया