विज्ञापनले विवादमा ऐश्वर्या

Aishwarya
मुम्बई । बलिउडकी सुन्दरी नायिका तथा पूर्व मिसवल्र्ड ऐश्वर्या राय बच्चन एक आभूषणको विज्ञापनमा अभिनयका कारण विवादमा तानिएकी छन् । कल्याण ज्वेलर्सको विज्ञापनमा एउटा बालक ऐश्वर्याको पछाडि छाता लिएर उभिएका छन् । जुन तस्बिरको सामाजिक कार्यकर्ताले विरोध गरेपछि ऐश्वर्या विवादमा परेकी हुन् । तर, उनले कम्पनीले विज्ञापनको फोटो बदलिसकेको बताएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार विज्ञापनको विरोध गर्ने संस्थाले ऐश्वर्यालाई पत्र पठाउँदै विज्ञापनले बाल मजदुरलाई बढावा दिने आरोप लगाएका छन् । उनीहरूले विज्ञापनले रंगभेदी व्यवहार पनि प्रस्तुत गरेको दाबी गरेका छन् । पत्रको जवाफ दिँदै ऐश्वर्याले विज्ञापनमा रहेको फोटो परिवर्तन गरेको जनाउँदै सुटिङको तस्बिर पनि पठाएकी छन् ।
ज्वलेरी कम्पनीले पनि विज्ञापनले आम मानिसको भावनामा चोट पुर्‍याएको जनाउँदै आफ्नो विज्ञापन अभियानलाई रोक्न घोषणा पनि गरेको छ । विज्ञापनमा ऐश्वर्या गहना लगाएर बसेकी छन् भने उनको पछाडि एक अश्वेत बालक छाता बोकेर बसेका छन् । ४१ वर्षीया अभिनेत्री ऐश्वर्या यो ज्वलेर्सको राष्ट्रिय ब्रान्ड एम्बेसेडर पनि हुन् । यो विज्ञापन पत्रिकामा प्रकाशित भएपछि अभिनेत्री र विज्ञापनको चौतर्फी विरोध भएको थियो । (एजेन्सी)

प्रतिक्रिया