“गीत–संगीतमा लागेर गुजारा गर्न गाह्रो छ”

Thirajइलाम लक्ष्मीपुरबाट डेढ दशकअघि राजधानी छिरेका गायक थिरज राई यथार्थवादी गीत गाउन रुचाउँछन् । पहिलो एल्बम ‘अघि–पछि‘बाटै यथार्थ झल्कने किसिमका गीत गाएर चर्चामा आएका गायक तथा संगीतकार राईले तेस्रो एल्बम ‘निमन्त्रणा’ बजारमा ल्याउने तयारी गरिरहेका छन् । उनको एल्बमको शीर्ष गीत नै यथार्थवादी गीत रहेको उनको दाबी छ । सयजति गीतमा स्वर, तीन सयजति गीतमा संगीत दिइसकेका गायक राईले हालै मात्र चार देशको भ्रमण गरी स्वदेश फर्किएका छन् । पहिलोपटक विदेश भ्रमण गरेका उनीस“ग त्यहा“ भएका कार्यक्रमबारे सौर्यका लागि गरिएको कुराकानी 

पहिलो विदेश यात्राको अनुभव कस्तो रह्यो ?

विभिन्न देशका पर्यटकीय तथा ऐतिहासिक ठाउँहरू घुम्न पाउँदा एकदमै रमाइलो भयो । धेरै साथीभाइसँग चिनजानका साथै सम्बन्ध नवीकरणको अवसर पनि जुर्‍यो ।

कति देश घुमेर फर्किनुभयो ?

मलेसिया, सिंगापुर, थाइल्यान्ड र हङकङ गरी चार देश पुगेर नेपाल फर्किएँ । दुई महिनाको अवधि विदेश घुमघाम र सांगीतिक कार्यक्रममै बित्यो ।

विदेश जाने संयोगचाहि कसरी जुर्दोरहेछ ?

खासगरी, म प्रेमवादसँग सम्बन्धित संस्थामा लामो समयदेखि आबद्ध छु । यस संस्थाको सांगीतिक क्षेत्रको सम्पूर्ण जिम्मेवारी ममाथि नै छ । यही संस्थामार्फत म विदेश यात्रामा निस्कन पाएको हुँ । यसअघि पनि अवसर नआएको भने होइन तर समय मिलेको थिएन । यसपटकको यात्राका लागि हङकङमा रहेका नेपालीको पनि ठूलो सहयोग रह्यो ।

घुमेका देशमा सांगीतिक प्रस्तुति पनि भयो होला नि ?

मैले यी चारै देशमा सांगीतिक प्रस्तुति दिएँ । म हङकङको जोर्डनस्थित नमोबुद्ध, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक र सिंगापुरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएँ । त्यहाँ रहेका नेपाली संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीले मलाई साथ दिनुभयो । त्यसले गर्दा ममा थप ऊर्जा मिलेको छ ।

तपाईंले देश र विदेशका कार्यक्रममा कति फरक पाउनुभयो ?

मलाई नेपाल र विदेशका कार्यक्रम समानजस्तै लाग्यो । यद्यपि, ठाउँ र त्यहाँको रहनसहन मात्र होइन, कतिपय अवस्थामा कानुनी प्रक्रियाले केही फरकपनचाहिँ हुँदोरहेछ । विदेशमा नेपालीहरू काममा व्यस्त रहनुपर्ने भएका कारण कतिपय चाहेर पनि उपस्थित हुन नसक्दा रहेछन् । नेपालमा त काम थाँती राखेर भए पनि कार्यक्रममा पुग्ने प्रवृत्ति छ ।

नेपाली कलाकार विदेशमा कन्सर्ट गर्दा त्यहा“को अवस्था कस्तो देख्नुभयो ?

उहाँहरूले कामको व्यस्तताको बाबजुद पनि नेपाली गीतसंगीतको सम्मानका लागि कलाकार लगेर कार्यक्रम आयोजना गर्नुहुन्छ । यसबाट उहाँहरूले मनोरञ्जन लिने मात्र होइन, नेपालीपनलाई जोगाउने माध्यम पनि बनाएको मैले देखेँ ।

अनि नेपालीको अवस्था नि ?

विदेशमा नेपाली कामदारको अवस्था दयनीय अवस्थाबाट गुज्रिरहेको छ । धन कमाउनका लागि उहाँहरूले आफूलाई खुकुरीको धारमा राख्नुभएको छ । कतिपय ठाउँमा त श्रमअनुसारको पारिश्रमिक पनि नपाउने रहेछन् । बाहिरबाट हेर्दा राम्रो देखिए पनि यथार्थ अलिक फरक छ ।

संगीत उद्योगको विकासमा विदेशमा रहेका नेपालीको पनि योगदान छ ?

हो, यो एक प्रकारले सही कुरा पनि हो । नेपालमा त संगीत उद्योग नाम मात्रको बन्न पुगेको छ । गीत–संगीतमै लागेर गुजारा गर्न गाह्रो छ । एकाधबाहेक अधिकांश कलाकारले गुजारा चलाउन वैकल्पिक व्यवसाय अपनाएकै छन् । एल्बम निकाल्ने भनेको सौख र नामका लागि मात्र जस्तो देखिएको छ, बिक्री ठप्पजस्तै छ । यस्तो अवस्थामा कन्सर्टहरूबाट गायकगायिकाले कमाइ गर्ने हो । राम्रा कलाकारले त प्रायः विदेश नै धाइरहेको देख्छु म । यसले पनि के देखाउँछ भने हाम्रो संगीत उद्योगलाई विदेशमा रहेका नेपालीले ठूलो भरथेग गरेका छन् ।

विदेशको कन्सर्टले कलाकारको कमाइ पनि राम्रै होला ?

पक्कै पनि हो । नेपालमा कन्सर्ट अलि कम नै हुन्छन् । पारिश्रमिक कलाकारलाई पुग्दो पनि हुँदैन । विदेशमा आयोजना हुने कन्सर्टमा त निश्चित पारिश्रमिक तोकेर जानेर हो । कम पारिश्रमिकमा त विदेशका कन्सर्ट जानुको के औचित्य र !

कन्सर्ट गरेर कलाकार लुक्ने चलन पनि त बढेको छ ?

यस्ता घटना पनि मिडियाबाट सार्वजनिक नभएका होइनन् । मलाई चाहिँ नेपालजस्तो स्वर्ग अरू कतै पनि खोजेर पाइन्न भन्ने लाग्छ । यहाँ त जसरी पनि पेट भरिएकै हुन्छ । यसो भन्दैमा गलत अर्थ नलागोस्, यहाँ पनि परिश्रम गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।

अबको योजना ?

तेस्रो एल्बम ‘निमन्त्रणा’को भिडियो निर्माण गरिरहेको छु । यो एल्बम चाँडै बजारमा ल्याउने तयारी छ । दर्शक तथा श्रोताले यस एल्बमका सात वटा गीत सुन्न अनि हेर्न सक्नुहुनेछ । अधिकांश गीतमा आफ्नै संगीत छ, तीन वटामा गणेश चौधरीले संगीत भर्नुभएको छ । यस एल्बममा सचित राई, भूपेन्द्र खड्का, गणेश चौधरी, सुमिक राई, प्रेम रिबुसाल र डिआरको शब्द समेटिएका छन् ।

प्रतिक्रिया