पाँच हजार बढी बिरामीको उपचार

जाजरकोट । यहाँ चैत १८ देखि वैशाख ९ गतेसम्म पाँच हजार तीन सय तीन बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाका १२ गाविस रहेका बिरामीलाई गरिएको उपचारअनुसार अहिलेसम्म अर्छानी गाविसमा छ सय ५९, पैकमा एक हजार छ सय ८२, सक्लामा तीन सय ८०, नायकबाडामा पाँच सय ७०, पजारुमा पाँच सय ७४ र टालेगाउँमा आठ सय ३२ बिरामीको उपचार भएको छ । त्यस्तै ढिमेमा तीन सय १७, रोकायगाउँमा एक सय १९, रामीडाँडामा २० र मजकोटमा एक सय ६० जनाको उपचार भएको छ ।
उपचार भएकामध्ये रुघाखोकीका बिरामी धेरै भएको स्वास्थ्यकर्मीले बताएका छन् । सरसफाइ, पोषण र खानेपानीको अभावले गर्दा रोगको संक्रमण छिटो भएको छ । यसैगरी उपचारमा खटिएका डा. गोविन्द केसीका अनुसार सहरकेन्द्रित स्वास्थ्य सेवा हुनाका साथै गरिबी, अशिक्षा, पहुँचमा स्वास्थ्य सेवा नहुनु अर्को समस्या भएको छ । रोग उपचारको दिगो व्यवस्थापन नहुनु र स्वास्थ्य संस्थाको स्तरवृद्धि, जनशक्ति, उपकरण आदिको उपलब्ध नभएका कारण समयमा यहाँका जनताले उपचार नपाएको केसीको भनाइ छ । ग्रामीणमुखी स्वास्थ्य नीति निर्माण गरिनुपर्नेमा जोड दिँदै केसीले जिल्ला अस्पताल पनि सुविधासम्पन्न हुनुपर्ने बताए । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटका ३० गाविसमा रहेका दुई सय ७० महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबारदेखि घरघरमा पठाएर जनचेतनामूलक कार्यक्रम गर्न र बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन अनुरोध गरेको छ । (सौस)

प्रतिक्रिया