मुम्बई । काममा व्यस्त हुनु राम्रो कुरा हो । अहिलेको व्यस्त दुनियाँमा कोही पनि मानिस खाली समय रहन सक्दैन । तर, कामको व्यस्तताले हातमा परेको ठूलै काम पनि उम्कन सक्छ । यस्तै पीडा भोगेकी छन्, बलिउड देशी गर्ल प्रियंका चोपडाले ।
भारतीय सञ्चारमाध्यमका अनुसार कामको चापकै कारण उनले १० करोड रुपैयाँको एउटा अफर अस्वीकार गरेकी छन् । तीनवटा अलग–अलग च्यानलबाट प्रसारण हुने तीनवटा रियालिटी शोका लागि आएको प्रस्तावलाई उनले समय अभावको कारण जनाउँदै अस्वीकार गरिन् । एक रियालिटी शोमा सहभागिता जनाउँदा उनले १० करोड रुपैयाँ पाउने थिइन् । त्यस्तै अर्को रियालिटी शोका लागि पनि उनलाई यति नै रकमको प्रस्ताव आएको थियो ।
‘तर, उनले सबै प्रस्तावलाई अस्वीकार गर्दै आफूसँग एक मिनेट पनि समय नभएको बताइन्,’ रियालिटी शो आयोजकमध्येका एकले भने, ‘शोका लागि समय दिएर पनि तोकिएको समयमा काम गर्न सकिएन भने आयोजकलाई अन्याय हुने भन्दै प्रियंकाले काम गर्न मानिनन् ।’
प्रियंका हाल आफ्नो अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘क्वान्टिको’ को सुटिङ सकेर अमेरिकाको लसएन्जल्सबाट मुम्बई फर्किसकेकी छन् । मुम्बई आउनासाथ उनले जोया अख्तरको फिल्म ‘दिल धड्कने दो’ को प्रमोसनमा व्यस्त बनेकी छन् । फिल्म आगामी जुन ५ मा रिलिज हुँदैछ ।
यो फिल्मपछि प्रियंका निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’ को सुटिङमा व्यस्त भएकी छन् भने ‘बाजीराव मस्तानी’ पछि प्रकाश झाको फिल्म ‘गंगाजल २’ को सुटिङमा उनको दौडधुप हुनेछ । (एजेन्सी)
प्रतिक्रिया