महामारीपीडितलाई फिल्मकर्मीको सहयोग

Priyankaकाठमाडौं । केही समय अघिदेखि जाजरकोटमा फैलिएको महामारीले पीडित बनेका स्थानीय बासिन्दालाई सहयोग गर्न फिल्मकर्मीहरू एकजुट भएका छन् । राजधानीको अनामनगरस्थित मन्डला थिएटर परिसरमा बुधबार भेला भएका फिल्मकर्मीले करिब २५ हजार दुई सय रुपैयाँ रकम संकलन गर्दै अन्य फिल्मकर्मीलाई पनि सहयोगका लागि आह्वान गरे ।
भेलाका अगुवा तथा फिल्म निर्देशक मनोज पण्डितले फिल्मकर्मीको काम केवल मनोरञ्जन दिने मात्र नभई सामाजिक काममा पनि सक्रिय हुन सक्छन् भन्ने आम मानिसमा ध्यानाकर्षण गराउन अभियान चालेको बताए । ‘यो हाम्रो दीर्घकालीन योजना हो, किनकी हरेक वर्ष प्राकृतिक प्रकोपदेखि महामारीसम्मका घटना भइरहन्छन्,’ निर्देशक पण्डितले भने, ‘हामी फिल्मकर्मीले जतिसुकै काम गरे पनि कामबाट प्राप्त आम्दानीको केही निश्चित रकम सामाजिक कामका लागि छुट्याउन सक्यौं भने त्यो रकमले अन्य मानिसका लािग ठूलो काम गर्दछ ।’ मनोजले निकट भविष्यमै फाउन्डेसन स्थापना गरेर प्राकृतिक विपत्ति र महामारीमा परेका पीडितलाई सहयोग गरिने बताए ।
अर्का अगुवा निर्देशक निश्चल बस्नेतले महामारी नियन्त्रण गर्न सरकारलाई गाली गर्दै सामाजिक सञ्जालको भित्तामा मात्र आफूलाई सीमित नराख्न फिल्मकर्मीलाई आग्रह गरे । ‘हामी जे कुराको पनि सरकारको मुख ताक्छौं तर, आफैँ भने गर्दैनौँ । फेसबुकमा लेखर मात्रै पीडितलाई राहत पुग्दैन,’ उनले भने । अभिनेत्री प्रियंका कार्कीले आफ्नो तर्फबाट महामारीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् भने अर्का कलाकार दयाहाङ राईले गत वर्ष सुनकोशीमा गएको पहिरोको स्थलगत अवलोकनको स्मरण गर्दै जाजरकोटवासीलाई महामारीबाट बाहिर ल्याउन सक्दो सहयोग गर्न तयार रहेको वचनबद्धता व्यक्त गरे ।
निर्देशक मनोजका अनुसार बुधबारै ‘बीम अफ होप (बोह)’ संस्थामार्फत जाजरकोटवासीका लागि रकम पठाइएको छ । तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइन फ्लुले हालसम्म २७ जनाको ज्यान गइसकेको छ । (सौस)

प्रतिक्रिया