काठमाडौं । पुरानो पुस्तादेखि नयाँ पुस्ताका नौजना नायिकाहरू एकसाथ स्टेजमा देखिँदा आम दर्शकको मनमा उनीहरू नाँच्न लागेको अनुमान लगाइन्छ । राजधानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा पुरानो पुस्ताकी नायिका करिश्मा मानन्धरदेखि नयाँ पुस्ताकी शिल्पा पोखरेलसम्मका नौ अनुहार पनि एकसाथ स्टेजमा देखिए । तर, उनीहरू त्यहाँ नाँच्न भने गएका थिएनन् । आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘अधकट्टी’ को अडियो नौ नायिकाले एक साथ विमोचन हुँदा कार्यक्रमको माहौल रोमाञ्चक बनेको थियो ।
अडियो विमोचनमा करिश्मादेखि, झरना थापा, नीता ढुंगाना, प्रियंका कार्की, दीपाश्री निरौला, नम्रता श्रेष्ठ, हर्षिका श्रेष्ठ, ऋचा शर्मा र शिल्पा पोखरेलले पाँचवटा गीत संग्रहित फिल्मको अडियो सार्वजनिक गरेका थिए । लामो समयदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्ममा वसन्त सापकोटा र राजन इसानको संगीत रहेको छ ।
‘नारी भनेका शक्तिका प्रतिनिधि हुन्, चाहे शक्तिको दुर्गा, विद्याको सरस्वती या धनको लक्ष्मी नै किन नहुन्, नारीलाई अगाडि राखेर गरिएको काम फलिफाप पनि हुने गर्दछ,’ फिल्मका निर्माता प्रदीपकुमार उदयले कार्यक्रममा भने, ‘उहाँहरूको हातबाट अडियो विमोचन गर्दा फिल्मले सफलताको स्वाद चाख्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’
फिल्मका निर्देशक आचार्यले फिल्मको गीतले बजारमा राम्रो प्रतिक्रिया पाइरहेकाले फिल्म सफल हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा कलाकारहरू गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी र प्रदीप बास्तोला, नम्रता श्रेष्ठ र विल्सनविक्रम राईले फिल्मको गीतमा नृत्य प्रस्तुत गरेका थिए । कमेडी फ्लेबरको फिल्ममा गजित विष्टको पनि अभिनय रहेको छ ।
फिल्ममा सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य, सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य र हरि घलेको छायांकन रहेको छ । (सौस)
प्रतिक्रिया