काठमाडौं । तीन दिनदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी ‘राष्ट्रिय नाटक महोत्सव–२०७२’ मिथिला नाट्यकला परिषद् जनकपुरको मैथिली नाटक ‘छुतहा घैल’ को मञ्चनसँगै समापन भएको छ ।
यो मैथिली नाटकले ६ सय वर्षअघि मिथिला राज्यमा आएको फुटसँगै दुई राज्यका राजा काका भजिताको द्वन्द्वलाई प्रस्तुत गरेको थियो । परमेश झाले निर्देशन गरेको नाटकमा दिगम्बर झा, विष्णुकान्त मिश्र, रामनारायण ठाकुर, गंगाकान्त झा, मदन ठाकुर, परमेश झा, गंगाकान्त, सन्दीप शाह, धिरज ठाकुर, मुकेश झा, अनितारानी मन्डल र सपनाले अभिनय गरेका थिए ।
महोत्सवको तेस्रो दिन (मंगलबार) दिउँसो आरोहण गुरुकुल मोरङले हास्यप्रधान मैथिली÷नेपाली नाटक ‘आब कोना चबल’ मञ्चन गरेको थियो । नाटकले २०४६ मा बहुदलीय प्रजातन्त्र तथा २०६३ मा गणतन्त्र स्थापनापछि दाइभाइ तथा मित–मितबीच पार्टीका कारण आएको फुट र आपसी बोलचाल बन्दको प्रसंगलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको थियो । रामभजन कामतले निर्देशन गरेको नाटकमा रामभजन कामत, मिलन नेपाली, सुनिता घिमिरे, कौशिला कामत, प्रयाग न्यौपाने, रोशनकुमार मेहता, सन्तोष यादव, गीता कोइराला, विकास पराजुली, सागर विश्वास, सुनिल चौधरी, सुजान कार्की, भरत कार्कीलगायतका कलाकारले अभिनय गरेका थिए ।
समापन कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्तले छोटो तयारीका साथ महोत्सव गरिए पनि सोचेभन्दा राम्रो भएको दाबी गर्दै आगामी वर्ष महोत्सवलाई ६ दिने बनाउने घोषणा गरे । राष्ट्रिय नाटक महोत्सवपछि क्षेत्रीय नाटक महोत्सव गर्ने तयारीमा आफूहरू जुटेको जनाउँदै चाँडै दक्षिण एसियाली नाटक महोत्सव गर्ने पनि उनले खुलाए ।
प्रतिष्ठानका परिषद् सदस्य तथा महोत्सव संयोजक रमेशरञ्जन झाले महोत्सवमा सहभागी मोसफलका विभिन्न समुदायका नाटक क्षेत्रीय कथा, स्थानीय जीवनसंघर्ष र मिथकमा केन्द्रित भएको जनाउँदै आउँदा दिनमा अझ भव्य बनाउने प्रतिबद्धता जनाए । महोत्सवका सहसंयोजक पुष्कर गुरुङले मोफसलका रंगकर्मीको प्रस्तुती निकै उत्कृष्ट भएको बताए ।
प्रतिक्रिया