काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय नाटक महोत्सव–२०७२’को दोस्रो दिन चेतना नाट्य समूह इलामको ‘पाथीभरा देवीको उत्पत्ति’, तरंग सांस्कृतिक परिषद् हेटौंडाको ‘मान्छे बन्ने रहर’ र सुम्निमा थिएटर एकेडेमी ललितपुरको ‘सुम्निमा’ नाटक मञ्चन भए ।
डा. देवी क्षत्री दुलाल निर्देशित नाटक ‘पाथीभरा देवीको उत्पत्ति’ नाटकले पाथीभराको कालीदेवी भेडीगोठालामार्फत उत्पत्ति भएको कथा देखाउँदै जेठीदेखि कान्छी पाथीभरा देवीको उत्पत्ति कथनलाई केन्द्रविन्दु बनाइएको थियो । नाटक सुवास लुर्इंटेल, मिलन खत्री, सरिता तामाङ, सिर्जना राई, अञ्जना कार्की, राम आचार्य, अञ्जना लुईंटेल, अन्वेश राई थुलुङ, चन्द्रकला लुईंटेल र पूजा भण्डारीको अभिनय थियो ।
तरंग सांस्कृतिक परिषद् हेटौंडाको ‘मान्छे बन्ने रहर’ नाटकले दर्शकलाई हँसाउँदै रुवाइदियो । उज्वल शर्मा भण्डारी निर्देशित नाटकले मकवानपुरको जंगलको ओढारमा रहेका चेपाङ समुदायलाई खाना र कपडा दिने प्रलोभन देखाएर गैर सरकारी संस्थाले उनीहरूलाई पैसा कमाउने भाँडो बनाएको प्रसंग प्रस्तुत गरेको नाटकमा कुमार शाह, प्रलय चौलागाईं, रामबहादुर थोकर, लक्ष्मण थोकर, दीपज्योती थापा, दीपमाला परियार, साजनकुमार, विनोद बानियाँ, भोलाराज सापकोटा, आशाकाजी श्रेष्ठ र उमंग भण्डारीले यसमा अभिनय गरेका थिए । यो नाटक यसअघि काठमाडौंको भिलेज थिएटरमा पनि मञ्चन गरिएको थियो ।
महोत्सवमा सोमबार साँझ तेस्रो नाटक ‘सुम्निमा’ मञ्चन गरियो । प्रवीण पुमाको लेखन तथा निर्देशनमा बनेको नाटक केही महिना अघि सर्वनाम थिएटरमा करिब एक महिनासम्म मञ्चन गरिएको थियो ।
किरातहरूकी देवी सुम्निमाले आत्महत्या गर्नुको कारण र आत्महत्यापछि उनको लास बोकेर खावाहोङ वैरागिँदै साकेन्वाथानतिर गएको दृष्य नाटकमा छन् । नाटकमा निर्देशक पुमासहित, समीर राई, पूर्णिमा राई, सीता राई, कला राई, मोहन राई, निशान राई, युमा लिम्बू, दीपक बान्तवालगायतको अभिनय रहेको थियो ।
महोत्सब संयोजक रमेश रञ्जन झाका अनुसार मंगलबार दिउँसो २ बजे आरोहण बिराटनगरको मैथिली नाटक
‘आब कोना चलब’ र साँझ ५ः३० बजे मिथिला नाट्यकला परिषद् जनकपुरको मैथिली नाटक ‘हुतहा घैल’ मञ्चन हुनेछन् ।
प्रतिक्रिया