मुम्बई । बलिउड बार्बी डल क्याट्रिना कैफले ६८औँ कान्स फिल्म फेस्टिभलमा पहिलोपटक सहभागिता जनाउने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार क्याट्रिना एक कस्मेटिक ब्रान्ड एलओरेल पेरिसको ब्रान्ड एम्बेसेडरका रूपमा फेस्टिभलमा सहभागिता जनाउन लागेकी हुन् ।
ऐश्वर्या राय र सोनम कपुरको समेत सहभागिता रहने फेस्टिभलमा उपस्थिति जनाउनका लागि आपूm आतुर रहेको क्याट्रिनाले बताएकी छन् । ‘म भारतबाट कान्स फिल्म समारोहमा प्रतिनिधित्व गर्न आतुर छु, हरेक प्रकारका फिल्मसँग सम्बन्धित सेलीब्रेटीसँग यो विशेष इभेन्टमा भेट्न पाउनु मेरा लागि प्रेरणाको कुरा पनि हो,’ क्याट्रिनाले भनेकी छन्, ‘साथै म कस्मेटिक ब्रान्डको ग्लोबल एम्बेसेडरसँग भेटन पनि आतुर छु ।’ कान्सको अफिसियल मेकअप पार्टनर रहेको यो कस्मेटिक ब्रान्डले १८ वर्षदेखि कान्ससँग सहकार्य गरिरहेको छ । कान्स मे १३ बाट सुरु भएर मे २४ मा सकिनेछ ।
एक दशकदेखि बलिउडमा जमिरहेकी क्याट्रिनालाई कान्समा स्वागत गर्न अभिनेत्री सोनम कपुर पनि आतुर छिन् । ‘क्याट्रिना निकै सुन्दरी अभिनेत्री हुन्, उनको आफ्नै किसिमको शैलीले आम मानिसलाई प्रभावित गर्ने गरेको छ, दुई सुन्दरी अभिनेत्रीसँग कान्समा सहभागिता जनाउन पाउँदा म अत्यन्त खुशी हुनेछु,’ सोनम भन्छिन्, ‘हामी आफ्नो देशको ग्ल्यामर, विविधता, सुन्दरता र बौद्धिकतालाई फेस्टिभलमा प्रस्तुत गर्नेछौँ ।’
प्रतिक्रिया