झापा राष्ट्रिय लिगको उपाधि यात्रामा

jhapa_group[1]काठमाडौं, ७ वैशाख । झापा–११ रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । आइतबार झापाको घरेलु मैदान डोमालाल राजवंशी खेल मैदानमा भएको खेलमा झापाले साविक विजेता मनाङमाथि १–० को कठिन जित हात पा-यो । जितपछि झापा १३ अंकसहित शीर्षस्थानमा उक्लिएको हो ।

झापाका लागि खेलको ८१औँ मिनेटमा गणेश खड्काले गोल गरे । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अधिकांश समय बलमा नियन्त्रण लिए पनि गोल गर्न नसक्दा मनाङले झापामाथि घुँडा टेक्न बाध्य बन्यो । खेलको ६५औंँ मिनेटमा झापाका कर्ण लिम्बू गोलको नजिक पुगे पनि असिस्टेन्ट रेफ्रीले अफसाइडको निर्णय दिए ।
यस्तै, आइतबारै सम्पन्न अर्काे खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् । बुटवलमा सम्पन्न खेलमा घरेलु टोली लुम्बिनी फुटबल क्लबमाथि एपिएफले ३–२ को संघर्षपूर्ण जित निकाल्यो ।
एपिएफले १९ मिनेट भित्र नै ३–० को अग्रता बनाएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा नै हेमन गुरुङले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको नवौँ मिनेटमा नै नविन लामाले गोल गर्दै अग्रता दोब्बर पा¥यो । घरेलु टोलीमाथि एकपछि अर्काे आक्रमण बुनेको एपिएफका लागि खेलको १९ मिनेटमा ३–० को अग्रता बनायो । तीन गोलले पछि परेको घरेलु टोली लुम्बिनीका लागि पुकार गहत राजले खेलको ५४औँ मिनेटमा गोल गर्दै गोलअन्तर कम गरे ।
यस्तै ६५औँ मिनेटमा मनोज गुरुङले गोल गर्दै खेलमा फर्काउने संकेत देखाए । तर, त्यो ढिला भइसकेको थियो । पहिलो हाफमा नै तीन गोल खानु घरेलु टोली लुम्बिनीका लागि पराजित हुनुको मुख्य कारण बन्यो ।
धनगढीमा सम्पन्न अर्काे खेलमा घरेलु टोली सुदूरपश्चिमाञ्चल र अर्काे विभागीय क्लब नेपाल आर्मीक्लबबीच १–१ गोलको बराबरी भएकोे छ ।
खेल सुरु भएको चौथो मिनेटमा नै टेकबहादुर बुढाथोकीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । आर्मीको विरुद्धमा निकै नै राम्रो खेल पस्केको कैलालीले खेलको ४२औँ मिनेटमा बराबरी गोल फर्कायो । घरेलु टोलीका लागि विदेशी खेलाडी लावलले गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकियो ।
जितपछि झापा ६ खेलबाट १३ अंकसहित लिगको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ११ अंक जोडेको मनाङ दोस्रो स्थानमा झरेको छ । समान ११ जोडेको एपिएफ गोल अन्तरमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया