इलाम पूर्णखोप जिल्ला घोषणा हुँदै

इलाम, ७ वैशाख । निर्धारित मापदण्ड पूरा गरिसकेको इलामलाई ‘पूर्णखोप जिल्ला’ घोषणाको तयारी गरिएको छ ।

जन्मेदेखि २३ महिनासम्मका बालबालिकाले सबै खोपको मात्रा पूरा गरिसकेकाले पूर्णखोप जिल्ला घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

इलामलाई आउँदो ११ वैशाखमा लोकतन्त्र दिवसको अवसर पारेर पूर्णखोप घोषणा गर्ने तयारी कार्यालयले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले पूर्णखोप जिल्ला घोषणा गर्ने तयारी भएको कार्र्यालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

२३ महिनासम्मका पाँच हजार आठ सय २५ जना बालबालिकालाई खोपको मात्रा पूरा गरिसकेको कार्यालयले जनाएको छ ।

जसमध्ये ८८ दशमलव ४१ प्रतिशतले बिसिजी, एक सय दुई प्रतिशतले डिपिटी, एक सय एक दशमलव ८३ प्रतिशतले दादुरा रुबेला, एक सय दुई दशमलव ४८ प्रतिशत बालबालिकाले पोलियो खोप पाइसकेको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयले दुई वर्षदेखि जिल्लामा पूर्णखोप अभियान सञ्चालन गरेको थियो ।
७ फागुन ०७० मा सुलुबुङलाई पहिलो पूर्णखोप गाविस घोषणा गरेर अभियानलाई तीव्रता दिएको कार्यालयले एक वर्षको अवधिमा सबै गाविस र नगरपालिका पूर्ण खोपयुक्त घोषणा गरिसकेको छ ।

यस अवधिमा जिल्लाका ४३ गाविस र तीन नगरपालिकालाई पूर्णखोप घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख पोखरेलले बताए ।

इलाम पूर्वाञ्चलका १६ जिल्लामध्ये दोस्रो स्थानमा पूर्णखोप घोषणा हुनेछ । यसअघि धनकुटा पहिलो पूर्णखोप जिल्ला घोषणा भएको थियो ।

यसैबीच पूर्णखोप जिल्ला घोषणाकै अवसरमा एचआइभी संक्रमितलाई पहिलोपटक एआरटी सेवा दिइने समेत पोखरेलले बताए । जिल्लामा सेवा नपाउँदा यहाँका नौ जना बिरामी अन्य जिल्ला धाउँदै आएका थिए ।

प्रतिक्रिया