राष्ट्रिय क्रिकेटमा काठमाडौं लगातार जित, नेपालगन्ज विजयी

cricket_ballकाठमाडौं, २ चैत । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएका खेलमा क्षेत्र नं. १ काठमाडौं र क्षेत्र नं. ५ नेपालगन्ज विजयी भएका छन् ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले क्षेत्र नं. ४ भैरहवालाई चार विकेटले हरायो । यो काठमाडौंको दुई खेलमा शतप्रतिशत जित हो ।

पुल्चोक इन्जिनियरिङ कलेजको मैदानको अर्को खेलमा नेपालगन्जले क्षेत्र नं. १ विराटनगरलाई तीन विकेटले स्तब्ध पा¥यो । जितले नेपालगन्जलाई समूह ए मा तेस्रो स्थानमा लगेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ४४.१ ओभरमा खेल्दै सबै विकेट गुमाउदै १८० रनको सामान्य पारी खेलेको थियो । जवाफी ब्याटिङमा आएको काठमाडौँले ३०.३ ओभरमै ६ विकेटको क्षतिमा २४९ सजिलै लक्ष्य पूरा गरेको थियो ।

प्लेयर अफ द म्याच घोषित काठमाडौंका प्रकाश विष्टले ६२ बलमा ६५ रन बनाएका थिए भने आदिल खानले अविजित रहँदै ६० रन जोडे । त्यस्तै, प्रशन्न शाक्यले २०, भूपेन्द्र थापाक्षेत्रीले आठ तथा किरण बुढाले अविजित चार रन बटुलेपछि काठकाडौंको सहज जीत निश्कियो ।

यसअघि भैरहवाका सौरभ खनालले अर्धसतकको पारी खेल्दै ५० रनको पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

निर्मल थापाले ३७ तथा निश्चल चौधरीले ३३ रन बनाए भने अन्य ब्याट्सम्यानले आशलाग्दो प्रदर्शन नगर्दा भैरहवाले राम्रो लक्ष्य दिन सकेन ।

भैरहवालाई सामान्य स्कोरमा समेट्न काठमाडौँका रूपेश श्रीवास्तव र सुदीप शर्माले तीन–तीन, उज्वल थापाले दुई तथा रितेश सिंहले एक विकेट लिए ।

बलिङमा पनि सामान्य प्रदर्शन भएको भैरहवाका दीपेन्द्र यादव र सुशन भारीले दुई–दुई तथा सौरभले एक विकेट लिएका थिए ।

अर्को खेलमा पनि टस हारेर ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाएर ४३.४ ओभर खेल्दै २२४ रनको मध्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका लागि आएको नेपालगन्जले ४८.५ ओभरसम्म खेल्दै लक्ष्य भेटायो ।

नेपालगन्जको जितका लागि प्रज्वल शाहीले लिएको पाँच विकेट महत्वपूर्ण भए पनि राजवीर सिंह र सुवेन्दु पाण्डेले दुवैले अर्धसतकीय पारी खेलेपछि राजवीर प्लेयर अफ द म्याच बने । राजवीरले ७५ तथा सुवेन्दुले ५९ रन बनाएपछि नेपालगन्जको आत्मबल बढ्यो ।

त्यस्तै नेपालगन्जको जीत सुनिश्चित गर्नका लागि अमरसिंह रौतेलाको २० र आकाश विष्टको अविजित १८, विश्व शर्माको १२, प्रज्वलले ११, अनुपम सिंहको नौ र प्रवीन गिरीको एक रनको योगदान रह्यो ।

यसअघि विराटनगरका रवि रोयले ४४ बलमा ५६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । त्यसैगरी, सिद्धान्त लोहनीले ४६, लाक्पा लामाले अविजित २७, मेहबुब आलमले २० रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
प्रज्ज्वलले लिएको पाँच विकेटबाहेक अविनाश बोहराले दुई तथा सिद्धान्तराज शाहीले एक विकेट लिए ।

विराटनगरका ललित राजबंशीले चार, पुष्प थापाले दुई तथा मो हजरत अलीले एक विकेट लिएका थिए ।

दुवै खेलका प्लेयर अफ द म्याचले डोमियर सपिङ एन्ड सुटिङ सेन्टरको तर्फबाट तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमवार टियू मैदानमा क्षेत्र नं. ६ बैतडी र क्षेत्र नं. ९ धनगढी तथा पुल्चोकमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. २ वीरगन्जबीच भिडन्त हुनेछ ।

प्रतिक्रिया