चितवनमा स्वाइन फ्लुको आतंक बढ्दै

Swin fluचितवन, २८ फागुन । चितवन जिल्लामा स्वाइन फ्लु सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ ।

तीन दिनबीचमा थप १७ जना बढेका हुन् । शङ्कास्पद बिरामीको नमुना सङ्कलन गरी काठमाडौँ पठाइँदै आएको छ ।

हालसम्म काठमाडौं पठाइएका १ सय ६२ जनाको नमुना परीक्षण गर्दा २७ बिरामीमा स्वाइन फ्लु अर्थात् इन्फ्लुएन्जा एचवान एनवानको सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

उनका अनुसार स्वाइन फ्लु सङ्क्रमित हुनेमा अधिकांश महिला रहेका छन् ।

जिल्लामास्वाइन फ्लुको प्रारम्भिक परीक्षण हुने एक मात्र भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढिरहेको बताउँदै चिकित्सक डा भोजराज अधिकारीले अब स्थिति नियन्त्रण गर्न थप सतर्कता आवश्यक रहेको जानकारी दिए ।

भरतपुर अस्पतालमा छुट्टै शय्यासमेत व्यवस्था गरेर बिरामीको उपचार भइरहेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले भिडभाडमा नहिँड्न, मानिसँग हात नमिलाउन, सङ्क्रमित भएको आशङ्का भए छुट्टै बस्न र बाहिर हिँड्दा मुख छोपेर हिँड्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइन फ्लुको जोखिम बढी रहने जनाइएको छ ।

रुघाखोकी लाग्ने, शरीर दुख्ने, थकाइ लाग्नेलगायत लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ ।

पछिल्लोपटक नमुना पठाएको ५६ जनाको नमुनाको प्रतिवेदन आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया