सेनाको लागि सकारात्मक

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाले अघि सारेको सैनिक संगठन पुर्नसंरचनाको प्रस्ताव कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका छन् । नगरकोटस्थित सैनिक शिक्षालयमा आयोजित सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सेनालाई समयानुकुल आधुनिकीरण गरी सक्षम, दक्ष र कार्यकुशल व्यवसायिक सुरक्षा अङ्ग बनाउन प्रस्तुत सो योजना कार्यान्वयन गर्न सरकार सकरात्मक रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले सेनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चुनौतिको समाना गर्न सक्ने बनाउनका लागि आवश्यक श्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको समेत बताए ।
सेनाको संगठन पुर्नसंरचनाको प्रस्ताव लामो समयदेखी रक्षा मन्त्रालयमा थन्केको छ । पूर्व प्रधानसेनापती छत्रमानसिंह गुरुङले सैनिक संगठनको पुर्नसंरचना प्रस्ताव अगाडी सारेका थिए । सो प्रस्तावमा सेनामा रथी र उपरथीहरुको दरबन्दी थप्ने भन्ने बुदा भएका कारण तत्कालिन सरकारले त्यसलाई अस्विकृत गरेको थियो ।
वर्तमान प्रधानसेनापती गौरवशमशेर राणाले सेनामा रहेका दुवै रथीको जिम्मेवारी समान बनाउन र सैनिक इण्टेलिजेन्सलाई अझ मजबुत बनाउन भन्दै पुर्नसंरचनाको प्रस्तावलाई पुन: अघि सारेका हुन् । सेनाको उक्त प्रस्तावको अध्ययन गर्न तत्कालिन रक्षासचिव द्वारिका आचार्यको संयोजकत्वमा समिति समेत गठन भएको थियो । नगरकोटमा शुक्रवारबाट पहिलो पटक २२ महासेनानी र २ प्रमुख सेनानी सहित २४ अधिकृतले हाईयर कमाण्ड कोर्स सुरु गरेका छन् । कार्यक्रममा उप–प्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकाश मन्त्री प्रकाशमान सिंह, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, पूर्व प्रधानसेनापतिहरु, नेपालस्थित विदेशी राजदुतहरु लगायतको सहभागीता थियो । कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कोइरालासहित मन्त्री र उच्च अधिकारीहरु नेपाली सेनाको हेलिकप्टरमा नगरकोट पुगेका थिए ।

प्रतिक्रिया