भारतीय दूतावास किन मौन ?

काठमाडौं, ६ बैशाख । गैरसरकारी संस्थाको रुपमा परिचित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको नाममा रहेको करोडौं रुपियाँ बराबरको सम्पत्ति हडप्न चलखेल भइरहेको खुलासा भएको छ । त्यसका लागि गैरकानुनी बाटोसमेत प्रयोग भएको पनि खुल्न आएको छ ।
गुठी मातहत राजधानीलगायत देशका विभिन्न स्थानमा करोडौं रुपियाँ बराबरको सम्पत्ति रहेको छ । सो सम्पत्ति विभिन्न तवरले आफ्नो बनाउन विधानविपरीत नेतृत्व चयन गरिएको पाइएको छ ।
गुठीको विधानमा मुख्य गुठियार मात्रै अध्यक्ष हुने प्रावधान रहे पनि उदयमोहन श्रेष्ठलाई अध्यक्ष बनाइको छ । अध्यक्षका अलवा अन्य तीनलाई अवैधानिक तवरबाटै गुठियारसमेत नियुक्त गरिएको छ ।
यस्तै, साधारणसभामा गुठियार नियुक्तिको एजेण्डा नै नराखिएको, २२ फागुनका लागि मुख्य गुठियारको बैठक बोलाए पनि २१ गते नै विभिन्न निर्णयसमेत गरेको पाइएको छ । साथै, २१ गतेको सो निर्णयका सम्बन्धमा आफूलाई कुनै जानकारी नदिइएको महासचिव महालक्ष्मी श्रेष्ठको दाबी छ । गुठीको साधारणसभामा मतदान गर्ने अधिकार भएका ५९ सदस्य सहभागी हुनु पर्ने प्रावधान भए पनि अन्य चारलाई विधान विपरित थप गरिएको स्रोतको दाबी छ ।
महासचिव महालक्ष्मी श्रेष्ठले गुठीलाई धरासायी पार्ने उद्देश्यका साथ विधानविपरीत नेतृत्व चयन भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरीसमेत दिएकी छन् ।
उक्त उजुरीमा विधानविपरीत आफ्नो अनुकुल कार्य समिति गठन गर्ने, अध्यक्ष नियुक्ति गर्ने, मुख्य गुठियार नियुक्त गर्ने, स्वेच्छचारी ढंगले मुख्य गुठियारलाई हटाउने, कार्य समिति गठन गरी संस्थालाई नै धरासयी बनाउने बदनियत गरेको आरोप लगाउँदै सबै गैरकानुनी काम बदर गर्नसमेत माग गरिएको छ ।
अरुण शर्मा, करुणा श्रेष्ठ, विजया श्रेष्ठ, राजन मेहर श्रेष्ठको नाम अवैधानिक रुपमा थप गरिएको तथा मुख्य गुठियारमा नियमविपरीत उदयमोहन श्रेष्ठ, श्रीमती रामवदन जोशी र श्रीमती रिता थापालाई मनोनयन गरिएको दाबी उजुरीमा उल्लेख छ ।
महासचिव श्रेष्ठले दायर गरेको उजुरीमा साधारणसभामा आफूलाई माइन्यूट लेख्न नदिएको र अध्यक्षसहितको टोलीले माइन्युट बुक खोसेको आरोपसमेत लगाइएको छ ।
गुठीको कृषि विकास बैंक, नेपाल बैंक तथा भाजुरत्न फाइनान्स लगायत खातामा साढे २ करोड रुपियाँभन्दा बढी रहेको स्रोतले जनाएको छ ।
सो महागुठीको काठमाडौं, गोठाटारको काँढाघारीमा ५५ रोपनी, जनकपुर महेन्द्रनगरमा ५५ विघा, जनकपुर मुख्य सहरमै २४ कोठाको दुई तले भवन तथा जनकपुरकै बसैयामा साढे २ विघा तथा बनेपामा ७ रोपनी जग्गा छ ।
यस्तै, काठमाडौंको खिचापोखरी र ललितपुरको लखनेखलमा एक एक वटा भवन रहेको छ । जसमध्ये, लगनखेलको भवनबाट मात्रै मासिक डेढ लाख रुपियाँ भाडा तथा खिचापोखरीको घरबाट १ लाख रुपियाँ भाडा गुठीले उठाउँदै आएको छ । महागुठीका अन्य चल अचल सम्पत्तिहरुबाट समेत मासिक लाखौं रुपियाँ आम्दानी हुने गरेको स्रोतको दाबी छ । सो आम्दानी र अचल सम्पत्तिमा मनोमानी गर्ने नियतका साथ अहिलेको कार्यसमितिले नेतृत्व हडप्न ठूलो आर्थिक चलखेलसमेत गरेको स्रोतको दाबी छ ।
यता, अवैधानिक तवरबाट निर्वाचित भएका भनिएका अध्यक्ष श्रेष्ठलाई जापान सरकारद्वारा प्रदान गरिने विभिन्न परियोजना अन्तर्गतको सहयोग रकममासमेत अनियमितता गरेको आरोप लाग्ने गरेको छ ।
विधानविपरीत गुठियारमा नियुक्त भएकी रिता थापामाथि पनि आर्थिक अनियमितताको आरोप छ । उनीमाथि महागुठी अन्तर्गत रहेको क्राफ्ट बिथ कन्साइन्सको अध्यक्ष भएको बेला संस्थाको खातामा रहेको ८० लाख रुपियाँ गायव बनाएको आरोप छ । महासचिव श्रेष्ठले कन्साइन्स बन्द भएको लामो समय भैसक्दासमेत सो रकम महागुठीको खातामा जम्मा नभएको दाबी गरेकी छन् । तर थापाले भने त्यसलाई अस्वीकार गर्दै आएकी छिन् । सो महागुठी भारत सरकारको अनुदान र सहयोगमा नेपालमा सञ्चालन हुँदै आएको छ । सो महागुठीले विगत लामो समयदेखि विभिन्न सामाजिक, चेतनामूलक तथा सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीबाट सञ्चालन हुने प्राय सबैजसो कार्यक्रममा नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोग रहँदै आएको छ । तर, गुठीका सञ्चालक तथा पदाधिकारीहरूको दूतावासका कर्मचारीहरूसँगको ‘अवाञ्छित’ हिमचिमका कारण गुठीमा भएको अनियमितता र भ्रष्टाचार सन्दर्भमा दूतावास मौन रहँदै आएको आरोप बारम्बार लाग्ने गरेको छ । स्रोतका अनुसार नेपालस्थित भारतीय दूतावास पनि गुठीको क्रियाकलापबाट असन्तुष्ट रहेको छ ।

प्रतिक्रिया