एमाओवादीमा जंगली धङधङी छ

giriझापा आन्दोलनको प्रभावले विद्यार्थी जीवनबाट वामपन्थी आन्दोलनमा लागेका प्रल्हाद गिरीले तराइको पर्सा जिल्लालाई राजनीतिक कर्मथलो बनाएका थिए । पञ्चायती व्यवस्थाले राजनीतिक गतिविधिमाथि प्रतिवन्ध लगाउँदा उनी स्थानीय रूपमा मालेको सक्रिय नेता थिए । ०६२–०६३ पछि भएको मधेस आन्दोलनसँगै गिरी तराइको भूमिगत समूहमा लागे । मधेसका जनताले राज्यबाट व्यहोरेको सौतेलो व्यवहाराबाट दिक्क भएर भूमिगत समूहमा लागेका उनले त्यहाँ पनि अनेक स्वार्थ भएका मान्छेको भीड देखे । सबै भोगाइले दिक्क भएका गिरीे सरकारसँग वार्ता गरी पुन: शान्तिपूर्ण राजनीतिमा फर्के । दोस्रो संविधानसभा निर्वाचनको मुखमा आएर एमाअओवादी प्रवेश गरेका गिरी केहि दिन अगाडि आफ्नो पुरानो पार्टी एमालेमा फर्केका छन् । सौर्यसँग आफ्नो राजनीतिक जीवनबारे गिरी भन्छन्–
जीवनको महत्वपूर्ण समय बिताएको पार्टी नेकपा एमालेमा फिरन्ते राजनीतिक जीवनबाट आठ वर्षपछि पुन: फर्केँ । झापा आन्दोनको प्रभावले को–अर्डिनेशन कमिटी, माले अनि एमाले भएर लामो समय राजनीतिक जीवन विताएँ । पछिल्लो समय तराइको पर्सा जिल्लालाई राजनीतिक केन्द्र बनाएर काम गरेँ । वीरगन्जमा पढ्दा एमाले नेता माधव नेपालसँगै काम गरेको थिएँ । मसँगै पार्टीमा लागेका नेताहरूमध्ये कोहि पोलिटब्यूरोमा पुगे कोहि पदाधिकारी भए । तर, म भने सधै जिल्लाको राजनीतिबाट माथि जान नसक्ने कस्तो बिडम्बना ? यो कुराले मेरो मन अहिले पनि पोल्छ ।
एमालेमा रहदाँ पार्टीले दिएको जिम्मेवारी नि:सर्त पूरा गर्दै आएँ । जब तराइ आन्दोलन सुरु भयो त्यसपछि मलाई लाग्यो–हामी मधेसमा बस्नेहरू राज्यबाट किन सधैं उपेक्षित हुने भन्ने । त्यही विचारले तराइमा रहेका सशस्त्र भूमिगत समूहमा लागेँ । तर, मैले सोँचेजस्तो त्यहाँ पनि रहेनछ । अनेक व्यक्तिगत स्वार्थमा लागेमा मान्छेको भीड देखेँ तराइको सशस्त्र समूहमा । म सधैँ राष्ट्रिय स्वार्थले प्रेरित भएर राजनीतिमा लागेको मान्छे व्यक्तिगत स्वार्थ बोक्नेको भीडमा अटाउन सकिनँ । म न हिजो न आज कसैकोसामु झुक्न सक्दिनँ । तराइमा सशस्त्र आन्दोलन गर्ने मध्येका एक ज्वाला सिंहको बारेमा बाहिर जति राम्रो चर्चा भए पनि मैले उनीसँग काम गर्दा बुझेँ, उनको उद्देश्य के रहेछ भन्ने । उनी राजनीतिभन्दा व्यक्तिगत स्वार्थमा बढी केन्द्रित छन् ।
खुल्ला राजनीति गरेर पटकपटक निर्वाचन लड्दा जनताको मत पाएको मान्छे म सशस्त्र समूहमा किन लागेँ मेरो शुभचिन्तकहरूलाई कौतुलता हुन सक्छ । तराईमा बसोवास गर्ने हामी मधेसीप्रति राज्य सधैँ पूर्वग्राही बन्यो । नेपाली भएर पनि पहाडमा बस्ने नेपालीको नजरमा हामी मधेसी, धोती, बिहारीजस्ता अनेकौं शब्दले अपहेलित भयौं । हाम्रो राष्ट्रिय भावना र आत्मस्वभिमानमाथि चोट पुर्‍याउने काम धेरै भयो । राज्य र अनेक निकायबाट सधैँ हेपियौं हामी । राज्यसत्ताले हामी मधेसीलाई गर्ने व्यवहार सधैँ सौतलो रह्यो । आफ्नै देशको राज्यका सबै अंगबाट हामी बहिस्कृतजस्तै भएका छौं अहिले पनि । मधेसमा भएको बिष्फोट त्यसैको परिणाम हो । तर, त्यो विष्फोटलाई मधेसमा रहेका केहि अवसरवादीहरूले आफूअनुकुल उपयोग गरे । जनताको भावनाविपरीत सञ्चालित भयो मधेसको आन्दोलन । आन्दोलनमा अनेक स्वार्थ भएको नेताहरू थिए । जनताको भावना र आन्दोलनप्रति रहेको सद्भावलाई सबैले आफूअनुकुल प्रयोग गरे । केहि मधेसवादी नेता र पार्टीले आफ्नो स्वार्थको लागि वार्ताको नाममा सिंहदरबारमा जिम्मा लगाए, बिसाए मधेस आन्दोलन । त्यो एक प्रकारले आन्दोलनको भ्रुण हत्या हो ।
मलाई चिन्ने जान्ने मान्छेका लागि मैले बिताएको आठ वर्ष प्रल्लाहदले बाटो बिरायो पनि भने । तर, मलाई भने मैले विभिन्न पार्टीमा रहेर बिताएको आठ वर्षलाई पाठका रूपमा लिएको छु । एमाले छाडेर बिताएको आठवर्षमा कुनै पश्चाताप मानेको छैन । म सत्यको बाटो खोज्दै थिए, घुम्दै फिर्दै आफ्नै पुरानो पार्टी एमालेमा आइपुगेँ । मेरो पनि आफ्नै पीडा होलान् सुन्ने थिए वा थिएनन् कि मलाई थाहा होला या मेरा नेतालाई । जे भए पनि म भौतारिदै आफैले बनाएको हुर्काएको पार्टीमा आएको छु । अब यहि नै मेरो अन्त्य हुने छ । फेरि कहिल्यै कुनै पार्टीमा जान्छ भनेर कसैले शंका नर्दिनु होला । जुन पार्टीमा युवा अवस्थमा भएको जोस जाँघर र क्षमता बिताए बुढेसकालमा त्यही आइपुगेको छु । बाँकी क्षमता र समय यही खर्चिने छु ।
सशस्त्र हतियारको आन्दोलन कैयौं हिसाबले हामी बुढाहरूको लागि उपयुक्त नहुँदो रहेछ । खुल्ला राजनीतिबाट हतियार बोक्ने आन्दोलनमा लागेको मेरा लागि धेरै कुरा नयाँ थिए । तर, कैयौं मान्छेलाइ भ्रम छ, सशस्त्र समूहमा लाग्ने सबै कसैलाई देखाउन वा रिस साध्न लाग्छन् भन्ने । त्यहाँभित्र निजी स्वार्थको लागि लाग्नेको बाहुल्यता थियो । तर, मैले भने आफ्ना लागि केहि गरिनँ । मेरो आस्था र स्वाभावको कारण गोइतसँग सात महिनाभन्दा बढीसँगै बस्न सकिनँ । मेरो राजनीतिक विचार छ आफू केहि बनौंला भनेर भूमिगत भएको थिइनँ । मधेस र मधेसीको लागि केहि गर्न सकिन्छ कि भनेर लागेको थिएँ । तर, गोइतजी को कार्यशैली चिन्तन मलाई पचेन । उनलाई छोडेर बिचार मिल्ने साथीहरू मिलर संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चा बनायौं । त्यसको नेतृत्व आफैले गरेँ । तराइमा आदोलन गर्नेहरूलाई आरोप लाग्छ– यिनीहरू नेपालको विखण्डन गर्न विदेशीको इसारामा सञ्चालित छन् भन्ने । तर, मेरो मनमा देश विखण्डन गर्ने वा देशलाई अहित हुने कुरा कहिल्यै आएन । सायद गोइतजीको उक्त बिचार हुन सक्छ । मेरो बिचारमा राष्ट्र भनेको मान्छेको पूर्णशरीर हो । शरीरको कुनै अंगमा रोगलाग्यो भने सिंगो शरीरमा त्यसको असर पर्छ । त्यस्तै राष्ट्रको सबै जनतामा सद्भाव रह्यो भने राष्ट्र स्वच्छ रहन्छ । त्यसैले देशमा रहेका अनेक प्रकारको समस्या हटाउन सकियो भने राष्ट्रिय एकता रहन्छ ।
मैले पञ्चायती व्यवस्थामा पार्टी भूमिगत हुँदा बहुदलीय व्यवस्था स्थापनाको लागि पार्टीको सिद्धान्तअनुसार राजनीति गरेँ । आफैले ल्याएको बहुदलमा पुन: भूमिगत सशस्त्र आन्दोलनमा लागेँ । मेरो बुझाइमा पञ्चायती कालखण्डको भूमिगत राजनीति आस्था र निष्ठाको थियो । त्यतिबेला आफ्ना लागि कोहि लागेको थिएन मात्र मुलुक र जनताको लागि सबै समर्पित थिए । तर, पछिल्लो समयको भूमिगत राजनीति जसले जे भनेर गरे पनि त्यहाँ निष्ठाभन्दा निजी स्वार्थ बढी रहेको मैले पाएँ । उति बेला नेता तथा कार्यकर्तामा इमान्दारिता र नैतिकता थियो । जनताको नेताप्रति र नेताको जनताप्रति भावनात्मक सम्बन्ध थियो । बहुदलको स्थापनासँगै यी कुराहरूमा ह्रास हुँदै गयो । हिजोकोजस्तो भूमिगत राजनीति आज छैन ।
०६२–०६३ को आन्दोलनपछि मधेसमा अनेक किसिमको आन्दोलन भयो । मधेस आनदोलनको कारण भूमिगत हुनेहरूको आफ्नै स्वार्थ थियो । राजनीतिक विचार सिद्धान्तभन्दा बढी निजि स्वार्थ भएको बाहुल्यता थियो मधेस आन्दोलनमा । अराजनीतिक मान्छेको बाहुल्यता थियो त्यो आन्दोलनमा । आफ्ना निजी स्वार्थ पूरा गर्ने र रिसइबी साध्नेहरूको भीड देखेँ मैले त्यहाँ । म जुन कुराले सशस्त्र समूहमा लागेको थिएँ त्यसले मलाई राजनीतिक गति दिन्छ भन्ने लागेनँ । जीवनमा सबै जनताको लागि लागेको मान्छे म निजी स्वार्थ पूरा गर्ने अभियानमा रहन सकिनँ । जनतालाई अनेक वहानामा दु:ख दिने आन्दोलनामा लाग्नुभन्दा सरकारसँग वार्ता गर्नु ठीक ठानेर वार्तामा आएँ खुल्ला राजनीति गर्न ।
पछिल्लो पटकको सशस्त्र भूमितग आन्दोलनको क्रममा कैयौं पटक बालबाल बचेँ । जुन आन्दोलनमा लागेको थिएँ त्यसको हिसाबले त्यो स्वाभाविकै हो । एउटै आन्दोलनमा लागेको अरु साथी मर्दा मैले पनि त्यो अवस्था भोग्नुपर्ने हुन्थ्यो । सशस्त्र संघर्ष सहज थिएन, तनाव धेरै हुन्थे । जति तनाब भए पनि मलाई बेकार बुढेसकालमा किन यस्तो तनाब लिन आएछु भन्ने लागेन । मैले राजनीति गर्दाको सुरुको दिनमा बुझेको थिएँ– जीवन संघर्ष हो बाचुनजेल कही न कही संघर्ष गर्नु पर्छ भन्ने । मात्र संघर्षको रूप फरक थियो । मेरो संघर्ष अहिले पनि जारी छ रोकिएको छैन संघर्ष गर्ने तरिका मात्र फरक हो ।
म केहि समय एमाओवादी भएकोमा धेरैलाई अनौठो लागेछ । एमाओवादी हतियार बोकेर १० वर्ष आन्दोलन गरेको पार्टी म पनि हतियार बोकेर पाँच वर्ष आन्दोलन गरेका व्यक्ति । उनीहरूसँग हतियार बोकेर आन्दोलन गरेको विषय मसँग मिल्थे । एमाओवादीको नेता प्रचण्डले ल्याएको संघीयताको विषयमा म सहमत थिए । मुलुकको समग्र विकास गर्न सवालमा सबै जाति, भाषा, धर्म, वर्ग र लिंगको समानता हुनेगरी राज्यको पूर्नसंचना गर्ने कुरा अरु कसैले गरेका थिएनन् । माक्र्सवादी विचार बोक्नेहरूको लागि कमरेड स्टालिनले दिनु भएको जातीयता बारेको विचार बिर्सनु हुँदैन । स्टानिलले भनेका थिए– जाति भनेको भूगोलअनुसार लामो बसोबास गर्ने जाति र समूदायलाई मान्नु पर्छ । स्टालिनको फोटो पूजा गर्ने तर उनको विचार नमान्ने ? जाति भनेको राष्ट्रियतासँग सम्बन्धित कुरा हो । तर, नेपालमा अनेक जातजाति बीचमा भ्रम सिर्जना गर्न खोजिएको छ । सबै जातजाति र भाषीको सम्मान हुने गरी जातीय पहिचान हुनुपर्छ । भ्रम सिर्जना गर्नु हुँदैन ।
जति बेला म उच्च शिक्षाको लागि वीरगन्ज क्याम्पसमा गए त्यसै बेलादेखि वामपन्थी राजनीतिमा लागेँ । समयले जहाँ पुगे पनि म सधै वामपन्थी बाहेक अरु केहि हुन सकिनँ । मूलधारको राजनीति गर्दा होस् वा क्षेत्रीय राजनीति गर्दा होस् । मेरो चिन्तन र बिचार सधैँ कम्युनिस्ट थियो । जब सरकारसँग वार्ता गरियो त्यसपछि लाग्यो अब फेरि मुलधारको राजनीति गर्नुपर्छ भनेर एमाओवादी भए । एमाओवादीले तराइ र मधेसबारे उठाएका एजेन्डाले मलाई प्रभावित गरेको थियो । उसको वर्गीय मुक्तिको कुरा मिठा र आकर्षक छन् । तर, व्यवहारमा भने त्यसको ठीक उल्टो । मैले सबै कुरा त्यहाँ गएपछि भोगेँ र बुझेँ । मसँग उनीहरूको व्यवहार मिलेन । उनीहरूको काम गर्ने शैली मलाई पटक्कै मन परेन । नेपालको कम्युनिस्टहरूमा आफूले सुरु गरेको राजनीतिक स्कुलिङसंग अरुको मेल खाँदैन । म झापा आन्दोलनसँगै लागेको मान्छेसँग उहाँहरूको काम र व्यवहार मेल खाएन । एमाओवादीको सांठानिक ढाँचा र विधिप्रक्रिया मलाई मन परेन । मैले एमाओवादी भएर भोगेको तितो अनुभव के पनि हो भने, ०५१ पछि कम्युनिस्ट भएकाहरूको अगाडि म नयाँ भएँ । उनीहरूमा दम्भ छ– हामी युद्धको मोर्चाबाट आएका हौं भन्ने । मप्रति हेर्ने दृष्टिकोण अत्यन्तै पूर्वाग्रही थियो । नेपालको राजनीतिमासँगै हुँदा आवश्यकभन्दा बढी गुन गाउने अलग भएपछि सत्तोसराप गर्ने प्रचलन छाडेर आएको पार्टीलाई त्यति गाली गर्दिनँ ।
कुनै पनि पार्टीमा बिचार राम्रो भएर हुँदैन । त्यसलाई पूरा गर्ने व्यवहार राम्रो हुनु पर्छ । नेतृत्व ठीक भएर के गर्नु । एमाओवादीमा प्रचण्डको बिचार लागू गर्नु कार्यकर्ता ठीक छैनन् । जर्मनीको एक राजनीतिक विश्लेषक ‘बिसमार्क’ ले भनेका छन्– निती राम्रो भएर हँुदैन त्यसलाई लागु गर्ने कार्यकर्ता सहि भएन भने त्यो अर्थहीन हुन्छ । एमाओवादीमा विचार दृष्टिकोण लागू गर्ने सवालमा कार्यक्रतामा समस्या छ । एमाओवादीको कार्यकर्ता जंगली युद्धको धङधङीबाट मुक्त हुन सकेका छैनन् ।
मैले एमाओवादी भएर पछिल्लो संविधानसभाको निर्वाचन लडेँ । तर, मैले एमाओवादीको भोट पाइनँ जति पाए पुराना मेरा शुभचिन्तकहरूको मात्र । एमाओवादीका कार्यकर्ता र मतदाताले पैसा खाएर नेपाली कांग्रेसलाई भोट बेचे । जहाँ म निर्वाचन लडेको थिएँ त्यो क्षेत्रमा मैले कम्युनिस्ट बनाएका धेरै साथीपछि एमाओवादी भएका छन् । उनीहरूको अगाडि म नयाँ भएँ । ०२७ सालबाट कम्युनिस्ट भएको म आफ्नै चेलाको अगाडि नयाँ भए । मैले संविधानसभा निर्वाचन एमाओवादीसँगै हारेँ । निर्वाचनमा म हसीयाँ हथौडा लिएर जनताको बिचमा गएको थिएँ । मेरो क्षेत्रमा जताततै सूर्य चिन्ह फरफराउँथ्यो । त्यतिबेला मेरो मन पोल्थ्यो सोच्थेँ– यस अघिका निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेँ, त्यही चिन्हमा निर्वाचन लड्ने पार्टीका साथीहरूलाई सहयोग गरेँ, तर अहिले किन अर्को पार्टी भएर लडेँ हुँला भन्ने । जे होस् मैले पनि निर्वाचन हारेँ । त्यो क्षेत्रमा एमाले पनि हार्‍यो । निर्वाचनपछि क्षेत्रका जनताले भने– यसरी हुँदैन तपाइँ एमाले हुनु पर्‍यो । यसरी लागे एमाओवादी एमालेले सधैं निर्वाचन हार्छ । पर्सा जिल्लामा युद्धको समयमा जनताले एमाओवालीलाई प्रतिकार गरेको जिल्ला हो । त्यसैले उनीहरूको त्यहाँ राजनीति राम्रो छैन । एमाओवादीको नेता भन्नेहरूको जनतासँग राम्रो सम्बन्ध छैन । उनीहरू जनताको हितमाभन्दा आफ्ना लागि केन्द्रित छन् ।
यतिबेला मैले एमाले हुँदा कुनै माग वा सर्त राखेको छैन । तर, राजनीतिमा जहाँबाट सुरु गर्‍यो त्यही अन्त्य हुनु पर्छ भन्ने मान्यता म राख्दिनँ । मैले जिल्ला कमिटीबाट राजनीति सुरु गरे त्यही अन्त्य हुनु हुँदैन । कामको मुल्यांकन हुनु पर्छ । पछिल्लो समय एमालेमा केहि परिवर्तन देखिएको छ । समावेशीको कुराले सबैको सम्मान होला भन्ने लागेको छ । एमाले मेरो मातृपार्टी हो यहाँ कसले के देला भनेर बसिदैन । यो पार्टीमा मेरो आफ्नै अधिकार छ । पार्टी निर्माण र विकास गर्दा कयौं कालखण्डमा मैले पनि महत्वपूर्ण लगानी गरेको छु । एमालेमा म नयाँ होइन केही समय अलग भएर फेरि काममा फर्केको कार्यकर्ता हुँ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया