महानायक मण्डेलाप्रति

यस शताब्दीका महानायक,रंगभेदविरुद्धका विश्व नेता र त्यागका प्रतिमूर्ति दक्षिण अफ्रिकाको पूर्वराष्ट्रपति नेल्सन मन्डेलाको निधन भएको छ । रंगभेदविरोधी शान्तिपूर्ण आन्दोलनमार्फत विश्वलाई नै नेतृत्व दिएका दक्षिण अफ्रिकी नेता मन्डेला वास्तवमा महानमानव नै थिए । गौरव र सहनशीलताका प्रतिक मन्डेला मानव जातिकै अगुवा बन्न सफल भए । मानवता, समानता र न्यायको युद्ध लडेका मन्डेलाले २७ वर्ष लामो समय जेलमा बिताए । आफ्नो रंगभेदविरोधी शान्तिपूर्ण आन्दोलन सफल भएपछि पनि उनमा कुुनै घमण्ड आएन । दक्षिण अफ्रिकामा अल्प संख्यमा रहेका गोरा शासकलाई पदच्यूत गरिसकेपछि पनि सम्मानपूर्वक राख्न सक्ने क्षमताको प्रदर्शन मन्डेलाले गरे । बाइबल लिएर छिरेका गोराहरूले दक्षिण अफ्रिकी जनताको हातमा बाइबल थमाएर त्यहाँको सम्पत्ती जति लिएको तीतो अनुभव जनतामा थियो । यस्तो हँुदाहँुदै पनि मन्डेलाले गोराहरू पनि मानव नै हुन्, संसारमा कालागोरा मिलेरनै बस्नु पर्छ भन्ने सोचाईो विकास गराए । स्वतन्त्रताको नि:स्वार्थ अगुवाई गरेका मन्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनिसकेपछि उनले अर्को उदाहरण पेस गरे । पद र सम्पत्तीमा पटक्कै लोभ गरेनन् । उनले जनतामा आफूलाई पनि सामान्य मानिस ठान्न अनुरोध गरे ।
विश्व राजनीतिमा फोहोरी खेलहरू भइरहेको बेला मन्डेलाको निधन भएको छ । तर, यो रंगमञ्चमा मन्डेलाले गरेको सम्पूर्ण प्राप्ति लेखाजोखा भने हुन छाड्ने छैन । बौद्धिक जगत, मानवअधिकारकर्मी लेखक, पत्रकार र राजनीतिकर्मीले समेत मन्डेलाको स्मरण गर्नै पर्छ । मन्डेला दक्षिण अफ्रिकाको नेता मात्रमा सीमित रहेनन् । उनी विकास शान्ति, मानवअधिकारर नेतृत्वको अगुवासमेत भएकाले विश्व उनीप्रति नतमस्तक बनेको छ । यही कारणले मन्डेलाले शान्तिका लागि दिइने नोबेल शान्ति पुरस्कारसमेत प्राप्त गरे । ‘तपाईं शत्रुबाट शान्ति चाहनुहुन्छ भने उसितै सहकारी गर्नुहोस्,’ भन्ने मन्डेलाले आफ्ना शत्रुहरूलाई मित्रवत व्यवहारद्वारा वसमा पार्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरे । जसले गर्दा मन्डेलाका कोही शत्रु भएनन् । जब मन्डेला जेलबाट छुटे र विश्वको नेता बन्न खोज्दै थिए त्यसबेला दक्षिण अफ्रिकाको एउटा विवाद भने नेपालकैसँग मिल्दोजुल्दो थियो । एकल पहिचान खोज्ने गोराहरूलाईसमेत उनले बहुपहिचानसहित संघीयतामा ल्याए ।
नेपाली नेताले मन्डेला र दक्षिण अफ्रिकीबाट धेरै कुरा सिक्नुपर्छ । संघीयताको नामाकरण, सुशासन, कानुनी राज्य, अधिकारको बाँडफाँड र चुनावमा पराजित भएकाहरूलाई समेत मिलाएर मन्डेलाले सरकार र संविधान लेखनमा सरिक गराएका थिए । विद्रोही नेतालाई गृहमन्त्री र आफूमाथि शासन गर्ने गोराहरूलाई उपराष्ट्रपति बनाउने महान व्यक्ति मन्डेलाकै कारण संविधान लेख्ने कार्य सम्पन्न भयो । नेपालमा अहिले विभिन्न खाले विवाद देखिएका छन् । विवादका लागि विवाद गर्ने नेताहरू पनि धेरै छन् । उनीहरूले अब मन्डेलाले बोलेका, गरेका र बुझेका कुराहरूको अध्यायन गर्नुपर्छ । त्यसले वर्तमान अवस्थामा नेपालले कुन बाटो लिनुपर्छ लिनुपर्छ र नेता कस्तो हुनुपर्छ भन्ने शिक्षा लिन सकिन्छ । नेता त्यसै हुन सकिँदैन । चटके भाषण र चुनाव जितेकै आधारमा पनि नेता मान्न सकिँदैन वा कोही मन्डेला बन्न सक्दैन । तर, उनको अनुयायीसम्म भने बन्न सक्छ । दक्षिण अफ्रिकामा जन्मिएका ती महान् सपुतको अनुसरण गर्ने कोसिस नेपाली नेताले गर्दा राम्रो हुने थियो । अहिलेलाई भने यो युगका महानायक मन्डेलाप्रति भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिक्रिया