खोटाङ, २२ मंसिर । खोटाङ, सोलु र ओखलढुागा जाने सुनकोशी र दुधकोशी नदी जोड्ने पुल बेलिबृज समयमै नबन्दा दैनिक उपभोग्य वस्तुहरु खोलाको बगरमा भण्डार गर्नुपने बाध्यता छ ।
खोटाङ र ओखलढुङगा बिचमा पर्ने दुधकोशी, उदयपुर र ओखलढुँगा बिचमा पर्ने सुनकोशीमा बेलीबृज नहुँदा उदयपुरको कटारी तथा काठमाडौंबाट व्यापारीहरुले ढुवानी गरेको दैनिक उपभोग्य वस्तुहरु यसरी खोला छेउ भण्डार गर्न बाध्य भएका हुन । जिल्लामा भित्रिने विभिन्न किसिमका सामान ढुवानी गर्न व्यापारीहरुलाई सास्ती भैरहेको उद्योग वाणिज्य महासंघ खोटाङका उपाध्यक्ष राजु लयालुले बताएका छन् । बेलीबृज नबन्दा समान ढुवानीमा बढी समय लाग्ने, दुईतिन पटक लोड अनलोड गर्दा समानको गुणस्तरमा समस्या हुने, समान जताततै राख्दा असुरक्षित हुने जस्ता समस्याहरु रहेको लयालुको भनाई छ । सिधा यातायात संचालन नहुँदा उदयपुरको घुर्मि र सिन्धुलीको शिवालय बिचको बादुरा खोला छेउको बगरमा सामान थुपार्नु पर्ने बाध्यता रहेको उनले बताए । यसैगरी ओखलढुँगाको हर्कपुर टोक्सेलघाट, जयराम घाटलगायत चारवटा स्थानमा सामान बगरमा राख्नु पर्ने बाध्यता रहेको छ । बेलिबृज नहुँदा खोटाङ, सोलु र ओखलढुँगाका सर्वसाधरणलाई आवत जावत गर्न समेत अपठ्यारो भएको छ । छोटो दुरीको गनत्व्य सम्म पुग्न पनि यातयात फेर्नुपर्ने बाध्यता छ । वर्षादको कारण नदीमा आउने पानीको बहावका कारण उक्त पुल भत्कने गर्दछ । वर्षायाम बितेपनि यतिका समय सम्म पुल नबन्दा सर्वसाधरणलाई प्रत्यक्ष मार परेको छ ।
दुधकोशी नदीमा भने बेली बृज लगाउने काम शुरु भईसकेको सडक विभागका इन्जिनियर विष्णु काफ्लेले जानकारी दिएका छन ।
सुनकोशीमा भने पहिलेको पुल भएको स्थानमा पुलको जग राख्ने ठाउ नभएकोले समस्या उत्पन्न भएको छ । पुलको जगराख्ने स्थल परिर्वतन गर्न समस्या आएकाले पुल जोडन ढिला भएको सडक विभागका अर्का इन्जिनियर अर्जुन अर्यालले जनाएका छन् । उषा निर्माण सेवाले दुवै नदीमा पुल लगाउने कामको जिम्मा लिएको भएपनि समयमा बेलीबृज बनाउन नसकेको इन्जिनियर अर्यालको भनाई छ । संविधान सभाको निर्वाचनमा काम गर्ने मजदुर नपाएको, वर्षाको समय सकिएपनि लामो समयसम्म पानी पर्न नछाडेकाले कोशीमा पानीको बहाब नघटेका कारण समयमा काम गर्न नसकिएको उनले बताए । काम लगातार भएमा यो महिना भित्र पुल निर्माण भईक्ने इन्जिनिएर काफ्लेले जानकारी दिए । विशेष गरी खोटाङ र सोलुबाट आउने जाने तथा समान ढुवानी गर्ने यो प्रमुख नाका हो ।
आउने जाने यात्रु तथा दैनिक उपभोग्यवस्तुहरुको ओसार पसार गर्ने मालबाहक साधनलाई बेली बृज नहूदा अफ्ठयारो भएको हो । गएको असार सम्म रहेको बेली बृज वर्षादको समयमा निकालिएको थियो ।
प्रतिक्रिया