तरकारीमा आत्मनिर्भर बनाउने तयारी

पर्वत : जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन जिल्ला कृषि विकास कार्यालयले सहकारी र समूहमार्फत व्यवसायिक तरकारी खेति अभियान चलाएको छ । तरकारीखेतीलाई व्यावसायिक तरिकाले अगाडि नबढाएसम्म बाहिरी जिल्लाको भर पर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकखेतीका लागि सहकारी र समूहमार्फत अगाडि बढाउने योजना सुरु गरेको हो ।
सहकारी तथा समूहमार्फत काम गर्ने कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने र उनीहरूबाट उत्पादित तरकारीको बजारीकरण गर्नसमेत सहयोग गर्ने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । व्यावसायिकरणका लागि यस वर्ष मात्रै समूहमार्फत ११ लाख अनुदानको व्यवस्था गरिएको छ । जिल्लाका मुख्यमुख्य पकेट क्षेत्रमध्ये गत आवमा चुवा, भुकताङ्ले र पाङ गाविसमा आर्थिक तथा प्राविधिक सहयोग गरिएको र यस वर्ष अन्य ठाउामा अनुदान दिएर अगाडि बढाइने बताइएको छ ।
सदरमुकाम कुश्मा बजारका साथै पातिचौर, कटुवाचौपारी, माझफाँट बारीबेनी, फलेवास, हुवास, लङ्खुदेउरालीलगायतका गाविसमा ताजा तरकारीको अत्यधिक माग हुने गरेको तर स्थानीय उत्पादनले आधा पनि नथेग्ने भएकाले ती ठाउँलाई लक्षित गरी व्यावसायिक तरकारीखेतीमा जोड दिन लागिएको जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।
अहिले जिल्लाका साना तथा ठूला बजारमा स्थानीय उत्पादनले नपुग्ने कारणले पोखरा, चितवन, बुटवललगायतका ठाउँबाट तरकारी आयात गरिएको र आगामी दुई वर्षभित्रमा जिल्लालाई नै तरकारीमा आत्मनिर्भरका साथै निर्यात गर्नसक्ने बनाउने योजनाका साथ काम गरिएको रेग्मीको भनाइ छ । विशेषगरी युवा विदेशपलायन हुने तथा कृषि व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने युवामा जानकारी नहुँदा व्यावसायिक रुपमा कृषि पेसा आगाल्नेको कमि रहेको उनको भनाइ छ ।
जिल्लामा करिब चार जना कृषकले तरकारीखेती गरिरहेको भएपनि मौसमीरुपमा मात्र गरिएको खेतीले व्यावसायिकता दिन नसकेको र त्यस्ता कृषकलाई व्यावसायिकता प्रवद्र्धनका लागि सहयोग गर्ने गरेको कार्यालयको भनाइ छ ।
अहिले जिल्लाका विभिन्न गाविसमा युवाले सामूहिक रुपमा फर्म सञ्चालनमा ल्याएर काम गरिरहेका छन् । विशेष गरी विदेश बसेर आएका युवाले जग्गा भाडामा लिएर भएपनि व्यावसाय सुरु गरेका छन् । तरकारीबाट तत्कालै फाइदा लिन सकिने र बजारको समेत समस्या नभएकाले उत्पादन गर्न सकेमा राम्रो कमाइ गर्न सकिने वसन्त प्रगति कृषि फार्म चुवाका टुङ्गनाथ शर्माले बताए ।
पोखरा बागलुङ राजमार्गको छेउमा ४० रोपनी जग्गा भाडामा लिएर तरकारी व्यावसाय सुरु गरेको शर्माले एक वर्षमै लगानी उठाएको बताए । जिल्लामा करिब पाँच सय रोपनी क्षेत्रफलमा तरकारीखेती हुने गरेको र त्यसमा कृषक संलग्न रहेको भएपनि जिल्लामा तरकारी खपतको अवस्था बढिरहेकाले मागअनुरुपको तरकारी पुग्न नसकेको बताइएको छ । जिल्लामा दैनिकरुपमा २ सय टन तरकारी खपत हुने गरेको भएपनि स्थानीय रुपमा उत्पादिन तरकारीले आधा मात्रै थेग्ने गरेको भएपनि केही तरकारी भने बाहिरी जिल्लामासमेत निर्यात हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया