‘टेलिकमको नेटवर्कमा कुनै समस्या छैन’

काठमाडौं, १८ मंसिर । नेपाल टेलिकमले राजधानीमा उल्लेख्य संख्यामा ‘बिटीएस’ टावरहरू थप गरेका कारण नेटवर्कमा कुनै पनि समस्या नभएको जनाएको छ । फोन गर्दा नबुझिने, पटकपटक कनेक्सन इरर देखाउने, बोल्दाबोल्दै काटिने समस्या अहिले नरहेकोसमेत टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार राजधानीमा पूराना विटीएस हटाएर नयाा विटीएस थपिएको र विद्युत् भार कटौती भएको बेलामा समेत सौर्य ऊर्जा प्रयोग गरेर बिटिएसलाई सञ्चालन गरिएका कारण समस्या कम भएको दाबी गरिएको छ । पछिल्लोपटक मात्रै टेलिकमले राजधानीमा ३ सयभन्दा बढी नयाँ बिटीएसहरू थप गरेको छ । राजधानीबाहिर पनि नयाँ प्रविधिको विटीएस थप गर्ने योजना रहेको छ ।
टेलिकमले पछिल्लोपटक चिनियाँ कम्पनी हुवावेको नयाँ प्रविधि जडान गरेका कारण समस्यामा कमी आएको उल्लेख गरिएको छ । टेलिकमले थ्रिजी नेटवर्कमा समेत स्तरोन्नति गरेको दाबी गरेको छ । विद्युत् भार कटौती भएको बेलामा समेत ‘ब्याकअप’को रूपमा सौर्य ऊर्जा प्रयोग गर्ने गरी व्यवस्था मिलाएको र नेटवर्क व्यस्त रहने स्थानमा मोबाइल भ्यानमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । यस्तै एडिएसएललाई पनि व्यवस्थित बनाउन लागिएको र यसको समस्यासमेत केही समयभित्रै समाधान हुने बताइएको छ ।
हाल टेलिकमको प्रिपेड, पोस्टपेड, ल्यान्ड लाइन गरी ९९ लाख ग्राहक रहेका छन् । टेलिकमले चालु आर्थिक वर्षमै थप २० लाख वितरण गर्ने र आगामी वर्षसम्म थप ३० लाख गरी पचास लाख ग्राहक थप गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया