प्रचण्डलाई हराएकोमा दम्भ छैन

Rajan-Kc-Congressसंविधानसभाको निर्वाचनसागै सभासद् राजन केसीको चर्चा ह्वात्तै बढेको छ । दशवर्षे जनयुद्ध लडेर आएको पार्टी एमाओवादी अध्यक्ष प्रचण्डले ०६४ सालको संविधानसभाको निर्वाचनमा उनलाई हराएका थिए । त्यसको पौचो तिर्दै यो निर्वाचनमा उनले प्रचण्डलाई हराए । आमजनतालाई लागेको छ पहिलो संविधानसभामा दुई स्थानबाट विजय हासिल गरेका प्रचण्डलाई हराउने व्यक्ति चमत्कारी होलान् । नेपाली कांग्रेसका कार्यकर्ता केसी पटक–पटक स्थानीय निकायमा प्रतिनिधि भएर जनताबीच लोकप्रिय छन् । निर्वानचमा हुने हार र जितलाई सामान्य रुपमा लिने उनलाई यसपटक काठमाडौं क्षेत्र नं. १० का जनताले विजयी बनाए । अरुले जे सोचे पनि केसीलाई आफू जितेकामा कुनै चमत्कार लागेको छैन । जनताले जसलाई आवश्यक ठाने उसैलाई रोजे उनको प्रतिक्रिया हुने गर्छ । निर्वाचनकै सेरोफेरोमा सौर्य दैनिकसाग
भएको उनको सम्वाद:–

संविधानसभाको निर्वाचन जित्नु भयो कस्तो महसुस गर्दै हुनुहुन्छ ?
–सुखद अनुभूति गरेको छु । लागेको छ काठमाडौं १० का मतदाताले हाम्रो पार्टी नेपाली कांग्रेस र मलाई यो क्षेत्रका लागि आवश्यक ठानेका रहेछन् । नयाँ संविधान बनाउने अभिभाराका साथै यहाँको जनता र क्षेत्रको सेवा गर्ने मौका जनताले
दिएका छन् ।
प्रचण्डलाई हराउनु भयो, प्रचण्डलाई हराएँ भन्नेमा दम्भ कत्तिको छ ?
–मलाई कसलाई हराए र चुनाव जिते भन्नेमा कुनै दम्भ छैन । सामान्य रूपमा लिएको छु । जनताले जसलाई आवश्यक ठाने उसैलाई तिजाए । प्रचण्ड एउटा पार्टीको अध्यक्ष म पनि अर्को पार्टीको कार्यकर्ता केही फरक छैन । निर्वाचनमा जोसँग प्रतिस्पर्धा हुन्छ हार जित पनि उसैसँग हुने हो । निर्वाचनमा को कोसँग हार्‍यो वा जित्यो ठूलो कुरा होइन । पहिले निर्वाचनमा उहाँले जित्नु भयो, यो पटक मैले जितेँ । यो निर्वाचनको सामान्य प्रक्रिया हो र मैले सामान्य रूपमा लिएको छु । प्रचण्डलाई मैले होइन काठमाडौं १० का मतदाताले हराएका हुन् । मतदाताले जसलाई विश्वास गरेर मत दिन्छ उसैले जित्ने हो । यतिबेला यस क्षेत्रका जनताले मलाई विश्वास गरेर भोट दिए मैले जितेँ । निर्वाचनको मैदानमा कसैले जित्नु कसैले हार्नु सामान्य हो ।
प्रतिस्पर्धी उम्मेदवारको तर्फबाट बधाई पाउनु भयो कि भएन ?
–एमाले उम्मेदवारले बधाई दिनुभयो । एमाओवादीका प्रचण्डले दिनु भएको छैन । ०६४ को निर्वाचनमा मैले हारेँ उहाँले जित्नु भयो । त्यो हारलाई मैले सहज रूपमा लिएर उहाँलाई बधाई दिएँ । त्यतिबेला उहाँको पार्टी नयाँ थियो । र, जित पनि उहाँहरूले हासिल गर्नुभयो । एउटा लोकतान्त्रिक पार्टीको कार्यकर्ताको नाताले हारे पनि त्यसबेला मैले उहाँलाई बधाई दिएको थिएँ । यो राजनीतिक व्यक्तिको नैतिकता
पनि हो ।
यो जित तपाईंको हो कि पार्टीको ?
–उम्मेदवारको हिसाबले विजयी म भए पनि जित वास्तवमा हाम्रो पार्टी नेपाली कांग्रेसको हो । जनताले मलाई मात्र होइन पार्टीलाई पनि विश्वास गरेर मतदान गरेका हुन् ।
पहिलो संविधानसभाको निर्वाचनमा हार्नुभयो अहिले कसरी जित्नु भयो ?
–पहिलो कारण पार्टीप्रति जनताको विश्वास र भरोसा, दोस्रो कारण मैले यो क्षेत्रका जनताको हितमा गरेको सामाजिक काम । स्थानीय निकाएको प्रतिनिधि हुँदादेखि मैले यो क्षेत्रमा धेरै काम गरेँ जसले मलाई जनताको बीचमा धेरै चिनाइरहनु परेन । अर्को कुरा पार्टीले तय गरेको घोषणापत्र र एजेन्डा, जसलाई जनताले स्वीकार गरेर मत दिए ।
निर्वाचनमा हारसँगै प्रचण्डमा आक्रोश देखियो यसलाई के भन्नुहुन्छ ?
–लोकतन्त्रमा सबैभन्दा सुन्दर पक्ष हो, निर्वाचन । निर्वाचनको मैदानमा उत्रिनेका लागि हारजित सामान्य हो । लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने नेतामा हार अथवा जितलाई सहज रूपमा लिन सक्ने चरित्र हुनुपर्छ । हारसँगै प्रचण्डमा देखिएको आक्रोशलाई मैले लोकतन्त्रप्रतिको अविश्वास हो कि भनेर बुझेको छु ।
पहिलो संविधानसभा निर्वाचन र यो निर्वाचनमा के फरक पाउनु भएको छ ?
–पहिलो संविधानसभाको निर्वाचन आस, त्रास, डरका बीचमा भएको थियो । धेरै डर र त्रासका बीचमा निर्वाचन भएकाले विभिन्न प्रकारका अवैधानिक गतिविधि देखिए । कांग्रेसको नेतृत्वमा सरकार थियो । त्यस्तो अवस्थामा भएको निर्वाचनमा पनि हाम्रो पार्टीले लज्जास्पद हार बेहोर्नु पर्‍यो । तैपनि हामीले निर्वाचन परिणामलाई स्वीकार गर्‍यौँ । लोकतन्त्रमा नेपाली कांग्रेसको लामो इतिहास छ । ०१५ सालमा भएको निर्वाचनमा दुईतिहाई ल्याएको थियो । ०४८ र ०५६ मा बहुमत ल्याएको पार्टीले पहिलो संविधानसभामा त्यति ठूलो हार बेहोर्नु पर्‍यो । हामीले आक्रोस पोख्दै हिडेनौँ स्वभाविकै हो भनेर चित्त बुझाएर बस्यौँ । निर्वाचनको परिणामलाई स्वीकार गर्नु भनेको जनताको अभिमतलाई स्वीकार गर्नु हो । हामीले लोकतान्त्रिक पद्धतिमा भएको निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्‍यौँ ।
यो निर्वाचनमा राजनीतिक विश्लेषकहरूको विश्लेषण फेल खाएको हो ?
–पहिलो संविधानसभाको निर्वाचन र अहिलेको परिणाम फरक आउनुमा धेरै कारण छन् । विश्लेषकहरूले त्यतिबेलाको धरातलमा विश्लेषण गरे होलान् । पहिलो निर्वाचन वाइसिएलको आतंक र त्रासबीच भएको थियो । माओवादीले जनतालाई हुने नहुने आश्वासन बाँडेकाले जनतामा केही गर्छ कि भन्ने आस पनि थियो । जसको कारण एकपटक माओवादीलाई हेरौँ भनेर जनताले मत दिए । चुनाव हारे माओवादी फेरि जंगल जालान् र त्यसको प्रत्यक्ष असर जनतामा पर्ला भन्ने डर जनतामा थियो । जसको कारण पहिलो निर्वाचनमा एमाओवादीले जित हात पारेको हो । यो निर्वाचनमा उनीहरूको हार आफ्नै कारणले भएको हो । दिनदिनै जनताको बीचमा माओवादी अलोकप्रिय बन्दै गएको थियो । साथै डर, त्रास र धम्कीबाट जनता नडराउने भइसकेका थिए र जनताको बीचमा पार्टी र तिनका नेता पनि अलोकप्रिय बन्दै गएका थिए, पार्टीभित्र व्यापक भ्रष्टाचार मौलायो, जनतालाई दिएको झुठो आश्वासन पनि पूरा गर्न सकेनन् साथै जनताले उनीहरुबाट केही पाएनन् । जसले गर्दा उनीहरूले लज्जास्पद हार बहोर्नु पर्‍यो । जनताले पहिलो संविधानसभामा ६७ प्रतिशत वामपन्थीको प्रतिनिधित्व गराए पनि संविधान बन्न सकेन । जसको प्रमुख कारक शाक्ति एमाओवादी नै हुन् जसलाई नेपाली जनताले हरेर बसेका थिए र यतिबेला मूल्यांन गरे ।
नेपाली जनताले कहिले संविधान पाउँछन् ?
–निश्चित रूपमा एक वर्षभित्रमा यो मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान आउनेछ । त्यसको अगुवाई नेपाली कांग्रेसले गर्नेछ । नेपाली कांग्रेससँग लोकतान्त्रिक व्यवस्थाको सम्बन्धमा लामो अनुभव पनि छ । ०४६ को परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारले एक वर्षभित्र संविधान निर्माणसँगै आमनिर्वाचन गर्ने जिम्मेवारी पूरा गरेको थियो । त्यतिबेला अहिलेको भन्दा धेरै चुनौति थिए । भर्खर प्रजातन्त्र आएको थियो, दलहरू परिपक्व थिएनन् । दरबार पूर्णरूपमा निष्क्रिय भएको थिएन । त्यस्तो अवस्थामा पनि कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गरेको थियो भने यतिबेला पनि आफ्नो जिम्मेवारी पूरा गर्नेछ । अबको एक वर्षमा नेपाली जनतालाई संविधान दिन नेपाली कांग्रेसले सबैलाई मिलाएर पहल गर्नेछ ।
एमाओवादी संविधानसभामा आउन सर्त राख्दै छ । उसको सर्त पूरा भएन र उनीहरू फेरि पुरानै बाटोमा गए भने मुलुकको अवस्था के होला ?
–उनीहरू निर्वाचनमा हारेको आक्रोश पोख्दै छन् । शान्ति प्रक्रियामा आउने बेला पनि उनीहरूको घुर्की निकै चलेको थियो । जितेको पार्टीहरुलाई घुर्काउने काम उनीहरू गर्दै छन् । नेपाली उखानमा भने जस्तै यो उनीहरूको बाँदरे घुक्र्याइ हो । मलाई विश्वास छ, उहाँहरू संविधानसभामा आउनु हुनेछ र संविधान निर्मार्णको प्रक्रियामा साथ दिनु हुनेछ । लोकतन्त्र मान्नेले लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणाम मान्दिन भन्दा हास्यास्द हुन्छ । निर्वाचनमा धाँधली भएको उहाँहरूको आरोप छ । यदि धाँधली भएको भए प्रमाणसहित आउनु पर्‍यो, बसेर छानबिन गर्न सकिन्छ । मतदान सकिएलगतै हतारहतार वक्तव्य निकालेर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र धाँधलिरहित भयो भन्दै सबै क्षेत्रका व्यक्तिलाई धन्यवाद दिने तर हार्ने संकेत आउने बित्तिकै धाँधली भयो भनेर परिणाम स्वीकार नगर्ने कुरा अप्रजातान्त्रिक हो । एमाओवादीका प्रतिनिधिहरूले मतदानको सबै प्रक्रियामा सहभागिता जनाएका छन् । मुचुल्का उठाउनेदेखि मतपेटीको सिलबन्दी गर्ने अवस्थासम्म सहमति जनाएका छन् । यस्तो अवस्थामा निर्वाचनको परिणाम मान्दिन भन्नु लोकतन्त्रप्रतिको अनास्था र अविश्वास हो ।
एमाओवादी संविधानसभामा आएनन् भने संविधान सर्वसहमतिले बन्ने छैन त्यसबेला दुईतिहाईको पद्धति अपनाउनु हुन्छ ?
–विश्वको इतिहास हेर्ने हो भने संविधानसभाबाट संविधान बनेको उदाहरण धेरै कम छ । त्यसको आधारमा यहाँ शंका उत्पन्न हुनु स्वभाविकै हो । हाम्रो जस्तो धेरै जाति, भाषी र समुदायको जनता भएको देशमा सबै मिलेर बस्छन् ती सबैको प्रतिनिधित्व हुने गरी संविधान बनाउनु जरुरी छ । र, सबैले यो संविधान मेरो हो भनेर अपनत्व गर्ने खालको हुनुपर्छ । संविधान सबैको साझा दस्तावेज बन्नुपर्छ । त्यसका लागि सबैको साथ समर्थनको जरुरी छ । पहिलो प्राथमिकता सर्वसम्मत रूपमा संविधान बनाउने हो त्यसका लागि संविधानसभामा भएका वा नभएका सबै पार्टीको भूमिका आवश्यक छ । उहाँहरूले पनि आफ्नो दायित्व पूरा गर्नु हुन्छ भन्ने विश्वास गरेका छौँ । त्यो प्रक्रियामा कतै अवरोध भयो भने अन्तरिम संविधानले व्यवस्था गरे बमोजिम दुईतिहाइ सभासद्को समर्थनमा संविधान जारी हुन्छ । निर्वाचन परिणाम र जनताले दिएको मतको आधारमा लोकतान्त्रिक शाक्तीबीच मिल्न सक्ने बुँदा हरूमा सहमति गरेर कांग्रेस एमालेबीचको सहमतिमा संविधान बन्नेछ ।
नेपाली जनताले तेस्रोपटक संविधानसभाका लागि मतदान गर्नु पर्दैन ?
–नेपाली जनता विश्वस्त भए हुन्छ अब यो मुलुकका जनताले पुन: संविधानसभाका लागि मत दिनुपर्ने अवस्था आउने छैन । हामी यहि संविधानसभाबाट नेपाली जनतालाई संविधान दिनेछौँ ।
योपटकको निर्वाचन कुन रूपमा सम्पन्न भएको मान्नु हुन्छ ?
–यो पटकको निर्वाचन बिल्कुल धाँधलिरहित निर्भिकतापूर्वक मतदाताले मतदान गर्न पाएको अवस्थाबाट भएको हो । यति कुशलतापूर्वक निर्वाचच गराउने सरकार र निर्वाचन आयोगप्रति सबै दल आभारी हुनुपर्छ । म पनि सबैप्रति आभार व्यक्त गर्छु ।
आफ्ना मतदातालाई के भन्नुहुन्छ ?
–यति बेला सबै मतदाताले एक वर्षभित्र नेपालमा संविधान बनोस् भन्ने चाहना राखेका छन् । म जनतालाई विश्वस्त बनाउन चाहन्छु । हामी एक वर्षभित्र संविधान दिनेछौँ । साथसाथै जनता आफ्नो क्षेत्रको विकास निर्माण चाहन्छन् । संविधानसभाको सभासद्का साथै व्यवस्थापिका संसद सदस्यको हैसियतले जनताको दोस्रो चाहना पूरा गर्न हरतवरबाट लाग्ने छु । जनताले दिएको जनमतको इमान्दारीपूर्वक पालना गर्ने कुरामा म पूर्णप्रतिबद्ध छु । जनताले राम्रो मान्छेलाई जिताएछौँ भनेर गर्व गर्ने गरी आफ्नो दायित्व
पूरा गर्नेछु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया