जनतालाई अविश्वास गरिनु हुँदैन

गत मंसिर ४ गते भएको निर्वाचन निष्पक्ष स्वतन्त्र र धाँधालीरहीत वातावरणमा सम्पन्न भएको मान्नु पर्छ । चुनाव र त्यसबाट प्राप्त जनमतलाई अहिले केही दलले अस्वीकार गर्न खोज्दै छन् । नेकपा एमाओवादी र तराई केन्द्रित दलहरूले पराजित भएपछि आवेशमा आएर जनअभिमतको ख्याल नै नगरी नतिजा अस्वीकार गर्ने अभिव्यक्ति दिनु राम्रो होइन । आफू जिते ठीक र अरु जिते बेठीक भन्ने सोच लोकतन्त्रमा चल्दैन निर्वाचन प्रक्रियामा भाग लिनुभनेको जित–हारलाई स्वाभाविक रूपमा लिन्छु भन्नु पनि हो । निर्वाचनमा भाग लिएपछि कहिले हार र कहिले जीत हुन्छ । आफूले मात्र जित्ने पद्धति तानाशाह शैलीको शासन व्यवस्थामा मात्र सम्भव हुन्छ । लोकतन्त्रमा जनमतलाई सर्वोपरी मान्ने गरिएको छ । यसमा निर्वाचनलाई माध्यम बनाएर जनताको धारणा बुझ्ने गरिन्छ । जनताले व्यक्त गरेको त्यही अभिमतअनुसार दलहरूले सत्ता सञ्चालन गर्ने हो । अघिल्लो निर्वाचनमा नेपाली जनताले एमाओवादीलाई सबैभन्दा ठूलो र मधेस केन्द्रित दललाई चौँथो स्वरूप दिएका थिए । अहिले त्यो स्वरूपमा परिवर्तन भएको छ । फेरि अर्कोपटक नेपाली जनताको धारणा बदलिन सक्छ । यसर्थ निर्वाचनमा आफूअनुकूल नजिता आएन भन्दैमा आत्तिनु आवश्यक छैन । संयमता, विवेकशीलता र दूरदर्शित नै नेताका गुणहरू हुन् । तसर्थ अहिले प्रतिकूल नतिजा आउँदैमा एमाओवादी र तराई केन्द्रित दलहरू आत्तिनु उचित होइन ।
नेपाली जनता सचेत छन् । चाहे तराईका चाहे पहाडका । अहिले नेपाली भूगोलभित्र रहेका नेपाली जनताले राजनीतिमा जातीयता र क्षेत्रीयता रूचाएनन् । त्यसैले जातीय मुद्दा उठाउने एमाओवादी र क्षेत्रीय आधारमा खुलेका पार्टीहरूप्रति जनताले विश्वास गरेनन् । जातीय, क्षेत्रीय र धार्मिक राजनीति वास्तवमा क्षणिक हुन्छ । तसर्थ नेपाली जनताले दूरदृष्टि राखेर मत अभिव्यक्त गरे यसलाई दलहरूले स्वाभाविक रूपमा लिएर भविष्यमा जनताको मन जित्ने काम गर्नु पर्छ । राजनीतिमा क्षणिक सोच राख्नु गलत हो । दूरदर्शी र विवेकशील हुन नसक्ने हो भने त्यस्ता दल नेताको राजनीतिक आयु अल्प हुन्छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल साथै तराई केन्द्रित दलका नेता महन्थ ठाकुर, विजयकुमार गच्छेदार, उपेन्द्र यादव, राजेन्द्र महतो, अनिल झा, सरदसिंह भण्डारीलगायत नेताले अब विवेक प्रयोग गरेर निर्णय लिने बेला आएको छ । कुनै पनि कुरा अपरिवर्तनीय हुँदैन । जनअभिमत पनि परिवर्तन भइरहन्छ । एकपटक हार्दैमा राजनीति हारिदैन र एकपटक जित्तैमा राजनीति जितिदैन । जनताले दिएको अभिमतलाई स्वीकार गर्नु नै महानता हो ।
मत गणना सुरु भएर आफूप्रतिकुल नतिजा आउन थालेपछि मत गणना प्रक्रियाबाट अलग हुने र मत पेटिका नै फेरिएको भन्दै आरोप लगाउनेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु नेतृत्वले गर्नु हुँदैन । एक दिन अघिसम्म आफै सर्वेसर्वा भएको व्यक्ति अर्को दिन मध्यरातमा हिजोसम्म भएका आफ्ना सबै कार्य गलत भएको अर्थ लगाउने गरी व्युझ्नु पक्कै पनि राम्रो होइन । चार दलीय उच्चस्तरिय राजनीति समितिमा रहेर अर्थपूर्ण निर्णय गर्ने शीर्ष नेता नै अहिले जनमतको विपक्षमा देखिएका छन् । निर्वाचनको सम्पूर्ण प्रक्रियालाई नजिकबाट हेरिरहेका र खटनपटन गरिरहेकाहरूले त्यही जनमतबाट प्राप्त नजिता अस्वीकार गर्नु भनेको बालहट प्रदर्शन गर्नु हो । सबै दल क्षेत्र, तह, तप्का र विदेशीलेसमेत निष्पक्ष, धाँधलिरहीत र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताइरहेको अवस्थामा सहभागी दल नै निर्वाचन प्रक्रिया नै गलत भएको भन्दै हिड्नु विश्वासयोग्य कुरा होइन । तसर्थ हार्दा आत्तिने र जित्ता मात्तिने कार्य गरिनु हुँदैन । दूरदर्शी र विवेकी भएर निर्णय गर्न सक्नु पर्छ । आफू र पार्टीभन्दा माथि उठेर राष्ट्र र जनताका बारेमा सोच्न सक्ने मात्र राष्ट्रको नेता हुन्छ । अन्यथा जनताले विश्वास गर्ने छैनन् । तसर्थ जनतमलाई उपेक्षा गर्न खोज्ने दलहरूले विवेकपूर्ण निर्णय गर्नुपर्छ ।
नेपाली जनताले नेपालका दलहरू र ती दलका नीतिगत प्रतिबद्धता प्रति अभिमत जाहेर गरेका छन् । जनताका यस अभिमतलाई कसैले नकार्ने दुस्साहस गर्नु गैरजिम्मेवारीपन मात्र हुन सक्छ । अहिले एमाओवादीले आफूलाई अप्रजातान्त्रिक रूपमा प्रस्तुत गर्न खोजेको छ । यदि, जनताको विश्वास जित्ने हो भने एमाओवादीजस्तो जिम्मेवार दलले जनतालाई अपमानित गर्ने खालका अभिव्यक्ति दिनु हँुदैन । जनताको अभिमतलाई सहर्ष स्वीकार गर्नुपर्छ । राष्ट्र, राष्ट्रियता, जनता, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे अग्रगामी सोच राख्ने दलका नेताहरूले आफूले हार्दैमा आफ्ना मुद्दा स्थापित गर्न छाडेर अन्यत्र सोच्नु हँुदैन । यदि, त्यसोभएमा आफ्नै मुद्दा अलपत्र पर्न सक्छन् । वास्तवमा मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन एमाओवादीको प्रमुख भूमिका रहेको छ । आफ्नो भूमिका एमाओवादीले बिर्सनु हँुदैन र जित्ने दलले पनि एमाओवादीलाई नजरअन्दाज गरेर अगाडि बढ्ने कोसिस गर्नु हँुदैन । संविधान बनाउनु सबैको योगदान आवश्यक छ । ऐतिहासिक संविधान लेखन कार्यमा आफ्नो उपस्थिति जनाउनु निर्वाचित प्रतिनिधिहरूको कर्तव्य पनि हो । यदि, यो कर्तव्य पूरा गरिएन भने जनताको अभिमतलाई कुल्चिएको ठहरिनेछ । तसर्थ एमाओवादीका शीर्ष नेताले संयमतापूर्वक निर्णय गर्न जरुरी छ ।
लोकतन्त्रमा निर्वाचन हुन्छ । हार–जित हुन्छ । र, त्यसलाई स्वाभाविक मानेर भविष्यप्रति सचेत हुने दल र नेताहरू नै टिकाउ हुन्छन् । आफ्नो पक्षमा जनमत आएन भनेर वितण्डा मच्चाउनेहरू जनताको नजरमा गिर्दै जानेछन् । यसतर्फ एमाओवादीलगायत जनमतप्रति विमति जनाउन खोज्नेहरू सचेत हुन जरुरी छ । निर्वाचनमा भएको हार–जितलाई स्वीकार गर्न नसक्ने दल वा दलका नेताले निर्वाचनमा भाग लिनु हँुदैन । भाग नलिने हो भने हार्नुपर्दैन र जित्नु पनि पर्दैन । तसर्थ निर्वाचनमा भाग लिएपछि हार–जितलाई स्वीकार गर्दे अगाडि बढ्नु नै जनमतको कदर गर्नु हो । नेपाली जनता सचेत छन् । कहिले कसैलाई र कहिले कसैलाई हार–जित गराउनु जनताको अधिकारको कुरा हो । नेपाली जनता परिवर्तन चाहन्छन् । भाषण, झुटा आश्वासन र बडप्पन होइन । नेपाली जनता देखिने गरी आश्वस्त हुन चाहन्छन् । यसलाई सबैले मनन गर्नुपर्छ । एमाओवादीले निर्वाचन भइरहँदासम्म वैद्य माओवादीलाई खासै महत्त्व दिएको थिएन । अहिले भने उसलाई बाहिर राखेर गरिएको निर्वाचनलाई खासै महत्त्व दिनुको अर्थ छैन भन्न खोज्दै छ । जब कि वैद्य पक्षलाई बाहिर राख्ने प्रमुख भूमिका एमाओवादीले नै खेलेको थियो । यसलाई जनताले नजिकबाट हेरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वास्तवमा परिवर्तनको वाहक ठानिएको थियो । तर, जनता त्यो भ्रमबाट मुक्त भएका छन् । कुनै दलको नेताले अतिवादी सोच राख्छ भने त्यसप्रति जनताले जवाफ दिनु स्वाभाविक हो ।
कसैले खोलामा पुल बनाउँछ भने त्यसबाट सबै बटुवा तर्न सक्छन् । एमाओवादीले ल्याएको मुद्दा अरू कसैले पूरा गर्छ भने त्यसप्रति एमाओवादी खुसी हुनुपर्छ । सरकारमा जाने, मन्त्री, प्रधानमन्त्री बन्ने र जनतामाथि क्रूर शासन गर्ने मनसाय राख्ने हो भने मात्र आफ्नो मुद्दा छाडेर नेता बरालिन्छ । अन्यथा आफ्नो मुद्दा बोक्ने अर्को पनि आइपुग्यो भने त्यसलाई राम्रो मान्नुपर्छ । अहिले एमाओवादी ह्वात्तै तल झरेको छ । सोच्दै नसोचेको परिणामले ऊ आत्तिएको देखिन्छ । यो राजनीतिक सुझबुझ होइन । अब एमाओवादीले आफ्ना कमी–कमजोरी खोज्नुपर्छ । मोटरसाइकलको हावा खुस्काइदियो भनेर एउटा राष्ट्रिय नेताले टिप्पणी गर्नु राम्रो होइन । आफ्नो संगठन दह्रो बनाउने, जनताको मन जित्ने र जनतासँग घुलमिल गर्नेले नै निर्वाचनमा जित्छ । जनताको नजिक नपुग्ने, आफू जनताभन्दा ठूलो भएको ठान्ने र दम्भ प्रदर्शन गर्नेहरू हार्छन् । नेपाली जनताले जे निर्णय गरे सोचविचार अनुसार नै गरेका हुन् । यसलाई धाँधली अथवा षड्यन्त्र भएको मान्ने हो भने जनतालाई अविश्वास गरेको
ठहर्ने छ ।

 

प्रतिक्रिया