बदर मत संख्या बढयो

धनगढी : कैलाली जिल्लाका सबै ६ निर्वाचन क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा अघिल्लो संविधासभाको निर्वाचनभन्दा बढी अर्थात् १३ हजार ३७९ मत बदर भएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा जिल्लाका ६ निर्वाचन क्षेत्रमा ११ हजार ५५७ मत बदर भएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत विश्वकसेन ढकालले मतदाताले मतपत्रमा दुई/तीन चिह्नमा मत सङ्केत गर्ने, ल्याप्चे लगाउने, दुई निर्वाचन चिह्नको बीचमा पर्ने गरी मत सङ्केत गर्ने समस्या कैलालीमा बढी देखिएको बताउनुभयो । निर्वाचन आयोगले सञ्चारमाध्यम मार्फतका साथै गाउँटोलसम्म पुगेर मतदातालाई मतदाता शिक्षा अभियान थालेको भए पनि यो अपेक्षाकृत रूपमा प्रभावकारी हुन नसकेको स्थानीय शिक्षित मतदाताको बुझाइ रहेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा कतिपय वृद्ध, अशक्त मतदाताका साथै पूर्ण रूपमा सचेत नभइसकेका मतदाताका लागि मतपत्रमा झट्ट हेर्दा उस्तै देखिने गाई र जोडा गोरु चिह्न छुटयाई मत सङ्केत गर्ने समस्या देखिएका कारण गाई चिह्नको राप्रपा नेपाल र जोडा गोरु चिह्नको तराई मधेस लोकतान्त्रिक पार्टी समर्थित कतिपय मतदाता अन्योलमा परेको बताइएको छ । कैलालीको हकमा तमलोपाभन्दा सङ्गठन निकै बलियो मानिएको राप्रपा नेपालले छवटै क्षेत्रमा अपेक्षा गरेभन्दा कम ६ हजार ५८ मत मात्र ल्याउन सक्यो । राप्रपा नेपालको तुलनामा तमलोपाको सङ्गठन र प्रभाव त्यति नदेखिएको अवस्थामा पनि तमलोपाले दुई हजार १३८ मत ल्याउन सफल भएको स्थानीय केही मतदाताको बुझाइ छ । (सौस)

प्रतिक्रिया