जनताको मतलाई सम्मान गरौँ

मंसिर ४ गते भएको संविधानसभा निर्वाचनको परिणामले नेपाली जनता सुझबुझपूर्ण निर्णय गर्न जान्दछन् भन्ने पुष्टि गरेको छ । निर्वाचनमा पराजित हुनेलाई दु:ख लागे पनि जनताको अभिमतलाई स्वीकार गर्नुको विकल्प रहँदैन । यो निर्वाचनबाट सबैभन्दा बढी क्षति एमाओवादीलाई हुन पुगेको छ । गत संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई यस्तै क्षति पुगेको थियो । लोकतान्त्रिक पद्धतिमा विश्वास गरेर निर्वाचनमा भाग लिएपछि हारजितलाई स्वाभाविक रूपमा ती पार्टीले लिएका थिए । अहिले एमाओवादीले भने हारलाई पचाउन सकिरहेको पाइँदैन । जनताको अभिमतलाई स्वीकार नगर्नु भनेको लोकतन्त्रप्रति विश्वास नगर्नु हुन जान्छ । तसर्थ संयमतापूर्वक सोचेर निर्णय सच्याउन एमाओवादी लाग्नुपर्छ । अन्यथा जनमतको अपमान हुन्छ । विगतमा नेपाली कांग्रेस र एमालेले जनमतको कदर गरेकै कारणले अहिले उनीहरू ठूला दल बन्न सफल भए । यदि, उनीहरूले पनि अहिले एमाओवादीले जस्तै अभिव्यक्ति दिएका भए मुलुक अर्को द्वन्द्वमा फस्न सक्थ्यो । त्यो द्वन्द्वमा फस्नबाट मुलुकलाई ती दलले बचाएको मान्नुपर्छ । एमाओवादीले पनि आफूलाई जिम्मेवार पार्टीका रूपमा प्रस्तुत गर्ने हो भने जनअभिमतलाई स्वीकार गर्नै पर्छ । यसको विकल्प अरू केही छैन ।
संविधानसभा निर्वाचन सम्पन्न भएको मंसिर ४ गते बेलुका संविधानसभाको निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा धाँधलीरहित तरिकाले भएकोमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई शुभकामना र धन्यवाद दिनुभएको थियो । उहाँले धन्यवाद दिँदै अब एक वर्षभित्र संविधान बन्ने ठोकुवा पनि गर्नुभयो । दु:खको कुरा नतिजाले आफू र आफ्नो दलका उम्मेदवारलाई पछि पार्न थालेपछि उहाँ निरास बन्दै जानुभयो र मध्यरात पुग्दा नपुग्दै पार्टी प्रवक्तालाई विज्ञप्ति निकाल्न लगाएर आफूहरू मतदान प्रक्रियाबाटै अलग भएको विचार सार्वजनिक गराउनुभयो । वास्तवमा एमाओवादीले संयमता अपनाउँदै लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र जनमत स्वीकार गर्ने धराणा व्यक्त गर्न सक्नुपथ्र्यो । त्यो गर्न एमाओवादी अध्यक्षले सक्नु भएन । यसले जनतामा एमाओवादीप्रति अरू वितृष्णा फैलाउने काम गर्‍यो । एउटा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुपर्ने अभिव्यक्तिभन्दा फरक खालका अभिव्यक्ति दिँदा जनतामा नकारात्मक सन्देश जानेतर्फ सोच्नुपर्ने थियो । वास्तवमा उक्त अभिव्यक्ति जनमतविपरीत थियो । यसलाई बौद्धिक वर्ग, निर्वाचन पर्यवेक्षणमा लागेका स्वदेशी तथा विदेशी संस्थाका व्यक्ति, नेपालस्थित विदेशी नियोग र विदेशी मित्रराष्ट्रले समेत अनौठो रूपमा लिए । मतदान प्रक्रियाबाटै अलग हुने भन्नु एकप्रकारले लोकतान्त्रिक पद्धतिलाई नकार्नु हो । यसलाई बालहठ पनि भन्न सकिन्छ ।
दलहरू जनताले ठूलो बनाउँदा मात्र ठूलो हुने हुन् । जनताले सानो स्वरूप दिए भने सानै हुनुपर्छ । अहिले एमाओवादीलाई पहिलाको भन्दा सानो बनाएका छन् । अर्कोपटक ठूलो बनाउने अधिकार पनि जनतामै सुरक्षित छ । यसलाई बिर्सनु हँुदैन । दलहरूलाई ठूलो र सानो बनाउने अधिकार जहिले पनि जनतामा सुरक्षित रहन्छ । यो यथार्थप्रति अनभिज्ञता प्रकट गर्दै गम्भीर षड्यन्त्रअनुसार आफूहरूलाई पराजित गरेको ठान्नु जनतामाथि अविश्वास गर्दै आफू मात्र सर्वेसर्वा भएको घमण्ड गर्नु हो । आफूलाई जनताभन्दा ठूलो ठान्ने, अरूको अस्तित्व स्वीकार नगर्ने र आफूहरू भन्दा अर्को विजयी भए त्यसलाई मान्नै नसक्नेहरू पराजित हुनु अस्वाभाविक होइन । यसतर्फ सोच्नुपर्छ । आवेगमा आएर होइन सुझबुझपूर्ण ढंगले अगाडि बढ्न जरुरी छ । एमाओवादीले हारेको छैन । उसले ल्याएका मुद्दा अरूले समेत बोकेका छन् । यो उसको विजय हो । आफू मात्र अग्रगामी अन्य पश्चगामी भन्नु युक्तिसंगत होइन । एमाओवादीजस्तो जिम्मेवार दलले अब संविधानसभाबाट संविधान दिन महत्वपूर्ण भूमिका खेल्नुपर्छ । आवेशमा आएर निर्णय गर्नु हँुदैन ।

प्रतिक्रिया