मूल्यवृद्धि नियन्त्रण गर्न सुपथ मूल्यका पसल प्रभावकारी

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले गत दशैँ, तिहार, छठ पर्व र निर्वाचनको सन्दर्भमा आपूर्ति व्यवस्थालाई प्रभावकारी तुल्याउन र मूल्यवृद्धि नियन्त्रण गर्न सुपथ मूल्यका पसलहरू प्रभावकारी देखिएको बताएका छन् । सचिव बास्कोटाको संयोजकत्वमा आइतबार सुपथ मूल्यका पसलको सञ्चालन र आपूर्ति व्यवस्थाको समीक्षासमेत गरिएको थियो । १ असोज देखि ३ मंसिरसम्म सञ्चालन भएका सुपथ मूल्यका पसलबाट साल्ट ट्रेडिङले सात करोड ७१ लाखको चिनी, ६८ लाखको नून र दुई करोड ५० लाखको अन्य खाद्यान्न विक्री गरेको थियो । साथै नेपाल खाद्य संस्थानले ३ करोड ५१ लाख, दुग्ध विकास संस्थानले ६८ लाखको र नेशनल ट्रेडिङ लिमिटेडले १ करोड ९२ लाख ६९ हजार वरावरको सामाग्री विक्री गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको सचिव वास्कोटाले वताए ।

वास्कोटाले वाणिज्य विभागलाई सुपथ मूल्यका पसललाई निरन्तरता कसरी दिने, आपूर्ति व्यवस्थालाई वर्खराव राख्ने विधि के हो, कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्ने विधिहरू के हुन, वजार अनुगमनलाई थप प्रभावकारी तुल्याउन के के गर्नुपर्छ, जनतका दैनिक उपभोग्य वस्तुहरूको वार्षिक खपतको तथ्याङ्क वस्तुगत रूपमा तयार गर्ने गरी ५ वटा काम सिघ्र गर्न निर्देश समेत दिएका छन् ।
आम जनताका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थामा जोड दिन, कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न, उपभोक्ताको हित विरुद्ध काम गर्नेलाई कडा कारवाही गर्न र गुणस्तरीय वस्तु सुपथ मूल्यमा सर्व सुलभ ढंगले प्राप्त हुने व्यवस्था मिलाउन पनि सम्बद्ध अधिकारीहरूलाई निर्देश दिए । वैठकमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मी, प्रधानमन्त्री कार्यालयका का.मु. सचिव भोला सिवाकोटी, वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, पशु स्वास्थ्य विभाग र कृषि विभागका महानिर्देशकहरूको उपस्थिति थियो । साथै साल्ट ट्रेडिङ लि. नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ्ग लि. र दुग्ध विकास संस्थानका महाप्रबन्धकहरूको पनि उपस्थिति थियो ।
सो अवसरमा वाणिज्य विभागले चालू आ.व.मा नौ सय पटक अनुगमन गरेकामा विगत २ महिनामा मात्रै चार सय ६० पटक अनुगमन गरेको, थुनछेक गरिएको, मुद्दा चलाईएको लगायतको प्रगति प्रस्तुत गरेको थियो । यसैगरी खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागवाट एक सय ७ पटक वजार अनुगमन गरेको म्याद ग्रुज्रेको खाद्य सामाग्री र पेय पदार्थ, गुणस्तरहिन मिठाई जफत गरिएको लगायतका प्रगति पेश भएको थियो । यसैगरी कृषि र पशु स्वास्थ्य विभागले हरियो तरकारी, दूध, माछा–मासु लगायतको आपूर्ति व्यवस्था मिलाएको जानकारी गराएका थिए । सचिव वास्कोटाले दशैं तिहार, छठ पर्व र निर्वाचनको समयमा काम गरे झै नियमित रूपमा आपूर्ति व्यवस्थालाई मिलाउन र प्रभावकारी वजार अनुगमन गर्न निर्देशन दिए ।

प्रतिक्रिया