काठमाडौं, ९ मंसिर । भौतिक तथा यातायात मन्त्री छविराज पन्तले राज्यले सहकारीलाई नियन्त्रण गर्न नभई व्यवस्थित गर्न सुधारका उपाय अबलम्बन गरेको बताएका छन् । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री पन्तले सहकारीमा विकृति भित्रिन नदिन राज्य चनाखो रहेको समेत बताएका हुन् । ‘सहकारीमा विकृति बढे सहकारी ध्वस्त हुन सक्छ, त्यसैले सहकारी व्यवस्थित गर्न सरकारले काम थालेको छ’ उनले भने ।
सहकारी ऐन २०४८ तथा नियमावली संशोधन गरेर सहकारी सुधारको अभियान थालिएको उनको भनाइ छ । सहकारीको विकासका लागि राज्यले कुनै कसर बाँकी नराख्ने धारणा उनले राखे । तीनखम्बे सहकारी मध्ये एक खम्बा कमजोर हुने भएकाले राज्यले तीनै खम्बालाई उत्तिकै महत्वका साथ हेरेको उनको भनाइ थियो । ‘सहकारीमा नियमन गरेर विकृति नियन्त्रण गर्न आवश्यक छ, सहकारीले गरिवी निवारण र रोजगार वृद्विमा टेवा पुर्याउने भएकाले यसको विकासका लागि सरकार लागेको छ’ उनले भने ‘सहकारी नीति, ऐन सुधार गर्नका लागि सहकारीकर्मीसँग सुझाव मागिने छ ।’ सहकारीमा नियमको कमजोरीकै कारण केही सहकारीमा विकराल समस्या देखिएको बताए ।
सस्कृतविद् सत्यमोहन जोशले सरकारले साझा संस्थालाई सहकारीकरण गर्न नसकेको बताए । सहकारी राज्यको नियन्त्रणमा चल्न नसक्ने उनको भनाई थियो । सबै सहकारी खराब नभएपनि ओरियन्टल, गुणलगायतका सहकारीले सहकारीप्रतिको दृष्टिकोण बढालेको बताए । सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले देश राजनीतिकरुपमा गुलाम नभएपनि आर्थिकरुपमा गुलाम हुन पुगेको बताए । सहकारीमार्फत व्यापक आर्थिक क्रान्ति गर्न आवश्यक रहेको पनि उनको भनाई थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासका लागि आगामी दिनमा थप नयाँ योजना प्रस्तुत गर्ने बताए । संस्थाले आर्थिक वर्ष २०६९/७० मा छ करोड २८ लाख ६० हजार एक सय ८६ रुपिँया मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्ष तिन करोड एक लाख ८७ हजार राजस्व बुझाएको थियो । संस्थाको गत वर्ष दुई अर्ब १९ करोड ४२ हजार तिन सय ६९ रुपिँया कारोबार रहेकोमा १७ दशमलव ४९ प्रतिशतले वृद्वि भई आव २०६९/७० मा दुई अर्ब ५७ करोड १२ लाख ४१ हार नौ सय ४४ रुपिँया पुगेको छ । संस्थाका अध्यक्ष हिराकाजी महर्जनले आव २०६९/७० मा दुई अर्ब १६ करोड ६७ लाख ५८ हजार चार सय ४६ रुपिँया निक्षेप संकलन गरी एक अर्ब ६३ करोड ६७ लाख ८९ हजार चार सय ३६ रुपिँया कर्जा लगानी गरेको बताए । उनले संस्थाका अघिल्लो आर्थिक वर्षको तुलनामा छ दशमलव ४७ प्रतिशतले शेयर पूँजी वृद्वि भई २४ करोड ७७ हजार ४ सय पुगेको जानकारी दिए ।
प्रतिक्रिया