विपन्न परिवारमा कुपोषण समस्या

कञ्चनपुर, ५ मंसिर । जिल्लाका विभिन्न स्थानमा आर्थिक समस्याले विपन्न परिवारलाई पिरोलेको छ । यहाँका अधिकांश बालबालिकामा पोषणयुक्त खानेकुराको कमीका कारण कुपोषणको समस्या देखापर्न थालेको छ । आर्थिक अवस्था ज्यादै कमजोर हुनु पनि कुपोषणको मुल कारण हो ।

कुपोषित हुने अधिकांश बालबालिका ग्रामीण क्षेत्रका दलित र विपन्न समुदायका बढी रहेका छन् । स्तनपान गराउने आमा र बालबालिकालाई पर्याप्त मात्रामा हरियो तरकारी, माछा मासु, दूध र आवश्यक अन्य खानेकुरा चाहिने भए पनि ती कुरा नपाउँदा बालबालिकामा कुपोषणको समस्या देखापरेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत हजारी चन्दले बताए । त्यसो त कतिपय स्थानमा पोषणबारे प्रशस्त ज्ञान नहुँदा पनि पोषणको मात्रा नपुगेको पनि बताइन्छ ।
शीघ्र कुपोषणको समस्या देखापरेका ७८० बालबालिकालाई महाकाली अञ्चल अस्पतालमा खोलिएको पोषण पुन:स्थापना गृहमा भर्ना गरी उपचार गरेपछि हाल ६७८ कुपोषित बालबालिका कुपोषणमुक्त भएको र १०२ बालबालिकालाई सो गृहमा भर्ना गरी उपचार गराइएको उनले बताए । चिकित्सकको सल्लाहमा पुन:स्थापना गृहमा कुपोषित बालबालिका र तिनका आमालाई राखेर लिटो, फलफूल र आवश्यक खाद्यपदार्थ खुवाई उपचार गरिन्छ ।
जनस्वास्थ्य कार्यालयमार्फत चार वर्षदेखि सञ्चालित ‘जनतामा आधारित पोषण कार्यक्रम’ मार्फत स्वास्थ्य चौकीमै समेत कुपोषणको उपचार गर्ने व्यवस्था गरिएपछि कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको बताइएको छ ।

प्रतिक्रिया