काठमाडौं, २९ कात्तिक । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारको पहिलो प्राथमिकता हाइड्रोपावर र पूर्वाधार विकास भएको बताएका छन् । सरकारले निजी र वाह्य लगानीकर्ताहरुलाई पनि त्यसैमा प्रोत्साहित गरिएको बताए । नेपालका लागि जापानका नवनियुक्त राजदूत माशासी ओगावासंग विहिवार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अर्थमन्त्री कोइरालाले जापान नेपाललाई सहयोग गर्नेहरुको छैटौं सूचीमा रहेकोमा आफूले त्यसलाई एक नम्बरमा आएको देख्न चाहेको धारणा व्यक्त गरे ।
उनले देश निर्वाचनमय भएको बताउँदै निर्वाचनपछि संविधान लेखिने र त्यसपछि आउने सरकारले आर्थिक विकासलाई पहिलो एजेण्डामा राख्ने स्पष्ट पारे । काठमाडौ– भक्तपुर, सिन्धुली बर्दिबास सडक र तनहुँ हाइड्रोपावरमा जापान सरकारको लगानी प्रशंसनीय रहेको भन्दै यस्तै परियोजनाहरुमा सहयोग बढाउन मन्त्री कोइरालाले आग्रह गरे । सो अवसरमा राजदूत ओगावाले आफ्नो कार्यकालमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाई नेपालको विकासमा जापानले पुर्याउँदै आएको सहयोगलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । मिलनसार नेपाली जनता, यहाँको मौसमबाट आफू प्रभावित भएको बताउँदै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने बताए । नेपाल सरकारसंग मिलेर काम गर्न आफू उत्साही रहेको र त्यसमा साथ दिन अर्थमन्त्री संग आग्रह गरे ।
प्रतिक्रिया