बिस्कुट उद्योग विरुद्ध मुद्दा

विराटनगर : मोरङ जिल्लामा सञ्चालित पाँच बिस्कुट उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । तोकिएको मापदण्डविपरीत तथा अखाद्य पदार्थको प्रयोग गरेको भन्दै मुद्दा दायर भएको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आ.व. २०६९/०७० मा अनुगमनको आधारमा न्यून गुणस्तरका बिस्कुट उत्पादन गर्ने उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालयका प्रमुख उपेन्द्र रायकाअनुसार मोरङ जिल्लामा सञ्चालित ४४ उद्योगमाथि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दायर गरिएको छ । यसरी मुद्दा दायर गरिएका उद्योगमा सूर्यमुखी तेल, सोयाविन तेल, पामोलियन तेल, वनस्पति घ्यू, तोरीको तेल, डेरी उद्योग, पिउने पानी (मिनरल वाटर), मसला, बिस्कुट, पाउरोटी (ब्रेड), सुजी, बेसन र चकलेटलगायतका खाद्यवस्तु छन् । कार्यालयले पूर्वाञ्चलमा ८८ उद्योगमाथि मुद्दा दायर गरेको छ भने थप उद्योगमाथि मुद्दा गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी मुद्दा चलाइने जिल्लामा मोरङ, सुनसरी, झापा, सिरहा र सप्तरी रहेको बुझिएको छ । जहाँबाट उत्पादन भएको हुन्छ सोही जिल्लामा मुद्दा पनि दायर गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । सो कार्यालयले पूर्वाञ्चलको सहर तथा ग्रामीण क्षेत्रबाट सात सय खाद्य वस्तुको नमुना सङ्कलन गरी जाँच गरेको थियो ।

प्रतिक्रिया