बन्द हुँदाको प्रभाव

मुलुक एक दिन मात्र बन्द हुँदा २ अर्बभन्दा बढी घाटा हुने कुरा कमैलाई थाहा छ । अहिले चुनावविरुद्ध लागेका ३३ दलले १० दिने बन्दको घोषणा गरेपछि अर्थतन्त्र अधोगतितर्फ धकेलिने भएको छ । यसप्रति नेपाल उधोग वाणिज्य संघले आपत्ति जनाएको छ । एक दिनको नेपाल बन्दले अर्थतन्त्रमा २ अर्ब रूपैयाँभन्दा बढीको क्षति हुने भएकाले ३३ राजनीतिक दलद्वारा १० दिने आमहडताल र नेपाल बन्दको कार्यक्रमप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । कुनै पनि समस्याको समाधान बन्द तथा हडतालजस्ता कार्यक्रमबाट हुन नसक्ने भन्दै आएको महासंघले बन्दको विरोध गरेको छ । बन्दका कार्यक्रमले दैनिक मजदुरीमा काम गर्ने मजदुरको जीविकोपार्जनको माध्यम हनन गर्छ भने तरकारी खेती गरी दिनदिनै बजारमा तरकारी बेच्ने किसानको पसिना त्यसै खेर जाने गरेको महासंघको भनाइ छ । यस्ता कार्यक्रमले स्वतन्त्र रूपमा पेसा व्यवसाय गर्ने नैसर्गिक मानवअधिकार हनन मात्र हुने नभई कतिपयको जीविकोपार्जनमै नकारात्मक असर पार्नेसमेत व्यवसायीले जनाएका छन् ।
लोकतान्त्रिक व्यवस्थाको सबभन्दा राम्रो पक्ष बालिग मताधिकारबाट सम्पन्न हुने निर्वाचन हो र नेपालमा निर्वाचन हुन लागेकोमा उद्योगी व्यवसायीलगायत आमनेपाली ज्यादै हर्षित छन् । यो अवस्थामा बन्द–हडताल गर्नु राम्रो होइन तर राजनीतिक दल र तिनका नेतामा कुरा मिल्न नसक्दा पुन: बन्द र हिंसाको संस्कृति मौलाउन थालेको शंका उत्पन्न भएको छ । विभिन्न कारणले नेपाल आर्थकि रूपमा अझ पछि पर्दै आएको र नेपाल अन्तर्राष्ट्रिय रूपमै अप्रतिस्पर्धी अर्थतन्त्र बन्दै गएको विभिन्न तथ्यांकले पुष्टि गर्दै आएको छ । यति हुँदाहुँदै पनि नेपालको अर्थतन्त्रलाई उन्नति र प्रगतिको पथमा लैजान र नेपाललाई लगानीको आकर्षक थलो बनाउन बन्द–हडताल सधैँका लागि अन्त्य गर्नुपर्ने देखिन्छ । महासंघले पनि यसतर्फ भरमग्दुर प्रयास गर्दै आएको जनाएको छ ।
अहिलेको चरम प्रतिस्पर्धाको युगमा नेपाल अझ पछि पर्ने हो भने उक्सनै नसक्ने गरी अर्थतन्त्र भासिने खतरा बढेको महासंघको भनाइ छ । ठूलो मात्रामा पँुजी बाहिरिने र अहिल्यै रोजगारीको अवसर नभएका कारण विदेशमा अति निम्नस्तरको काम गर्न जान बाध्य नेपालीका लागि कुनै विकल्प नरहने र कहालीलाग्दो परिस्थितिमा मुलुकलाई नधकेल्न र सार्थक वार्ताद्वारा आन्दोलरत पक्षका मुद्दाको यथोचित राजनीतिक सम्बोधन हुने गरी समस्या समाधान गर्न महासंघले सरकार तथा जिम्मेवार राजनीतिक दललगायत सबैमा आग्रह गरेको छ । साथै, बन्दकर्तासँग नेपाल बन्द र आमहडतालजस्ता कार्यक्रम फिर्ता लिई मुलुकलाई अझ ठूलो धरापमा नधकेल्न महासंघको अनुरोध छ । वास्तवमा सबै पक्षले बन्द फिर्ता लिन र जनजीवन सुचारु गर्न आग्रह ‌गरेका छन् ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले राजनीतिक उद्देश्य पूर्ति गर्न नेपाल बन्द गर्ने कार्यक्रम घोषणा गरेकोमा फिर्ता लिन नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघले पनि आह्वान गरेको छ । धेरै लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा समय–समयमा हुने बन्द, हडताल, अवरोध, असुरक्षा र अनिश्चितताका कारण नेपालको औद्योगिक क्षेत्र आक्रान्त भएको परिसंघले जनाएको छ । त्यसबाट एकातिर वैदेशिक लगानीमा प्रतिकूल असर परेको र अर्कातिर रोजगारीको खोजीमा प्रतिदिन सयौँको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको जनाएको छ । अशान्ति, बन्द–हडताल, लोडसेडिङ र चन्दा आतंकको मारबाट नेपालका औद्योगिक प्रतिष्ठान विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकी आफ्नो व्यावसायिक क्षमता गुमाउँदै गइरहेको परिस्थितिमा नेपालको राजनीतिक समस्या समाधन नेपाल बन्द, हडताल वा अवरोधबाट हुन नसक्ने कुराको अनुभव सबैलाई भएकै हो । अब बन्द–हडताल रोकेर समस्या समाधानका लागि वार्तातर्फ उन्मुख हुन जरुरी छ ।

प्रतिक्रिया