निष्पक्ष चुनाव गर

तिहार सकियो । छठ बाँकी छ । चुनाव आउन पनि अब ११ दिन मात्रै बाँकी छ । सबैजसो राजनीतिक दलले चुनाव केन्द्रित कार्यक्रममा तीव्रता दिएका छन् । ठूलादेखि साना दलसमेत स्वत:स्फूर्त चुनावी माहोलमा सहभागी भएको घटनाले चुनाव हुन्न कि भनेर आशंका गर्नेहरूको शंकासमेत अब हट्दै गएको छ । र, चुनावविरोधी गतिविधिमा संलग्न दल नेकपा–माओवादीबाहेक कतिपय दलहरूसमेत दोधारमा परेका छन् । लोकतान्त्रिक मुलुकमा समयमा चुनाव हुनु आफैँमा राम्रो हो भने चुनावको विकल्पमा गरिने कुनै पनि सम्झौता सार्वभौम नागरिकका लागि मान्य हुन्न । चुनावलाई कसरी सभ्य र भव्य ढंगमा सम्पन्न गर्ने भन्नेमा भने स्वयं राजनीतिक दलहरू नै सचेत हुनुपर्छ । यसले मात्र राजनैतिक संकट समाधान गर्न सक्छ ।
निर्वाचन सभ्य र धाँधलीरहित रूपमा सम्पन्न गर्ने अहं दायित्व दलहरूकै हो र धाँधलीयुक्त चुनाव भयो भने पनि त्यो अपजस दलकै काँधमा आइपर्छ । निर्वाचनलाई सभ्य र भव्य बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता निर्माण गरेको छ भने निर्वाचन आचारसंहिताका विषयमा सबै राजनीतिक दलका प्रमुख नेता सचेत छन् । दु:खको कुरा यति जानकारी हुँदाहुँदै पनि कतिपय राजनीतिक दल र तिनका कार्यकर्ताले आचारसंहिताविपरीत गतिविधि जारी राखेका छन् । केही दलका कार्यकर्ताले चुनावी सभाकै बहानामा हुलहुज्जत मात्रै गरेनन्, कतिपय स्थानमा प्रमुख दलहरूले समेत निर्वाचन प्रायोजनका लागि आचारसंहिताविपरीतका कार्यहरू गरेका छन् । आचारसंहिताविपरीत जानु आफैँलाई धोका हो भन्ने जान्दाजान्दै केही दलहरू जसरी लागेका छन्, उनीहरूको गतिविधिले आमसर्वसाधारणलाई समेत निराश बनाउने अवस्था सिर्जना भएको छ । यद्यपि निर्वाचन आयोगले मातदानका कर्मचारीलाई निर्वाचन क्षेत्रमा खटाएर आचारसंहिताविपरीत जानेलाई कारबाहीसमेत गर्ने अधिकार दिएको छ । तर, दलका गतिविधिहरू रोकिने अवस्था देखिएको छैन । यसलाई रोक्ने कर्तव्य दलहरूकै हो ।
आयोगका कर्मचारीले आचारसंहिताविपरीत जानेलाई कारबाही गर्न सक्ने अवस्था छैन । राजनीतिक दल स्वयंले यस्ता गतिविधि नामेट पार्ने अभियान सुरु गर्नुपर्छ । यदि दलका नेताहरूले चाहे भने त्यो ठूलो कुरा पनि होइन । अर्को यथार्थ के पनि हो भने कुनै पार्टीको महँगो पोस्टर, लोभलाग्दो नारा, आकर्षक भित्तेलेखन देखेकै भरमा जनताले आफ्नो पार्टीलाई भोट हाल्छन् भन्ने मान्यता सबै दलले त्याग्न जरुरी छ । धाक धम्कीले अब कसैलाई तर्साउन सक्ने अवस्था छैन किनभने आमनेपालीको चेतनाको स्तर कतिपय दलका कार्यकर्ताले सोचेभन्दा निकै माथि छ । चुनावको विषयमा गरिने हुलहुज्जत वा झगडाको असर केवल सम्बन्धित राजनीतिक दलमा मात्र नभएर उसको निर्वाचन क्षेत्रमा समेत नकारात्मक असर पर्ने निश्चित छ । निर्वाचनलाई सभ्य बनाउन आयोगले दलहरूको परामर्शमा जारी गरेको आचारसंहिता पालना गर्नु चुनावी मैदानमा उत्रिएका दल र उम्मेदवारको कर्तव्य मात्र नभएर नैतिकता पनि हो । यसो भनिरहँदा सञ्चारमाध्यमले पनि उम्मेदवार र दलले जत्तिकै जिम्मेवारी बहन गर्नैपर्छ । त्यसैले निर्वाचन जित्ने ध्याउन्नमा गरिने आचारसंहिता विरोधी जुनसुकै हर्कतलाई तत्काल त्यागेर नैतिक मूल्यमा आधारित निर्वाचनको वातावरण बनाउने दायित्वबाट दल र उम्मेदवार मात्र होइन सरोकारवाला जोसुकै पनि चुक्न मिल्दैन । तसर्थ सबै मिलेर निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहिता पालना गर्नैपर्छ ।

प्रतिक्रिया