सामूहिक च्याउ खेती

स्याङ्जा : जिल्लाको दक्षिणपूर्वी गाविस सेखामका महिलाले सामूहिक रुपमा अर्कैको जग्गा भाडामा लिएर सामूहिक च्याउखेती सुरू गरेका छन् ।
सुरुका दिनमा आ–आफूलाई अनुकूल पर्ने गरी एक्लै च्याउखेती गर्दै आएका महिलालाई एक्लै बजारको खोजी गर्नुपर्ने झन्झट भएपछि परिवर्तनशील महिला आयआर्जन समूह निर्माण गरी सोही समूहमार्फत व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् । च्याउखेती गर्नुपूर्व पराल काट्न र पकाउन झन्झट भएपनि पछि बढीसमय दिन नपर्ने भएकाले र एउटा च्याउको पोकाबाट चार/पाच पटकसम्म च्याउ उम्रिरहने हुनाले थोरै लगानीमा राम्रो आम्दानी लिन सकिएको कृषकले बताएका छन् ।
परिवर्तनशील आयआर्जन समूहमा आबद्ध महिलाले स्थानीय सुशीला मानन्धरको खाली जग्गा १० वर्षका लागि भाडामा लिएर व्यावसायिक रुपमा च्याउखेती थालेको सुरु गरिएको समूहकी अध्यक्ष हरीकुमारी शाहीले बताइन । ‘एक्लैएक्लै च्याउखेती गर्दा बजार खोज्नुपर्ने अनि एक्लै झन्झट पनि बेहोर्नुपर्ने भएपछि समूह बनाएर खेती गर्न थालेका हौ’ अध्यक्ष शाहीले भनिन्, ‘सामूहिक जिम्मेवारी, आपसी सल्लाह छलफल बजारको खोजी गर्न समूहमार्फत निकै सजिलो भएको छ ।’
सेखाम गाविसको आव २०६९/०७० को लक्षित वर्ग अन्तर्गतको १५ हजार, जापनिज संस्था जेएमसिपको ४५ हजार गरी जम्मा ६० हजार र महिलाको श्रमदानमा गोठ निर्माण गरी व्यावसायिक रुपमा च्याउखेती सुरु गरिएको अध्यक्ष शाहीले जानकारी दिइन् ।
समूहले उत्पादन गरेको च्याउ प्रतिकिलो २०० मा गोठबाटै बिक्री हुने गरेको शाहीको भनाइ छ । ‘हामीले उत्पादन गरेको च्याउको माग बढ्न थालेको छ’ अध्यक्ष शाहीले भनिन् । माअनुसारको आपूर्ति गर्न सकिरहेको र अब केही समयपछि थप जग्गा भाडामा लिएर व्यवसाय बढाउने तयारीमा समुह जुटेको छ । (सौस)

प्रतिक्रिया