माटोको भाडा बनाउन र बिक्री गर्न भ्याइनभ्याइ

Mato-Ka-Bhanda

माटोका भाडा

भक्तपुर, १५ कात्तिक । तिहार आएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । माग धेरै भएकाले र तिहार आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिङ्गो परिवार पाला बनाउन र बिक्री गर्न मै व्यस्त भएका छन् ।

भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछें १२ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पालालगायतका अन्य सामग्री बनाउन एकछिन फुर्सद छैन । ‘तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहार अघि जसरी पनि सामान दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ’ स्थानीय दयाराम प्रजापतिले भने । वर्षभरिमा राम्रो आम्दामी गर्ने समय नै यही हो भन्दै यो मौकालाई गुम्न नदिन सपरिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने उनले बताए । माटोको भाडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त युवा रुजेन प्रजापति एक दिनमा एक हजारदेखि १५ सयसम्म पाला बनाउने गरेको उनीको भनाइ छ ।
गत वर्षको तिहारमा एक सय वटा पालाको ७५ देखि ९० सम्म बिक्री गर्ने गरेपनि यस वर्ष भने यसको मूल्य बढेको छ । माटोको अभाव र टाढादेखि माटो ल्याउनु पर्ने समस्याका लागि पालाको मूल्य बढेको रुजेनले बताए । यस वर्ष भक्तपुरमा प्रति पाला एकमा बिक्री भएको छ । खुद्रा मूल्य भने एक सय वटा पालाको एक सय १५ रुपियाँ सम्म पर्ने गरेको प्रजापतिले बताए । भक्तपुरमा मात्र नभइ पालाको माग बाहिरका बजारमा समेत बढेकाले कुमाले समुदायलाई पाला बनाउन यतिखेर भ्याइनभ्याइ भएको मध्यपुरथिमिका रामकृष्ण प्रजापतिको भनाइ छ । अहिले काठमाडाौ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रेलगायतका विभिन्न जिल्लाबाट अर्डर भएका पालालगायतका सामान बनाउन भ्याइनभ्याइ भएको हो ।
विगतमा भक्तपुरका कुमाले बाहिर जिल्ला मै गएर माटोको भाडा बनाउने गर्दथे भने कतिपय विभिन्न जिल्लामा बसोबास गरेका कुमालेले स्थानीय स्तरमै भाडा बनाउने गरेपनि अहिले यो परम्परा लोप भएपछि भक्तपुरमा यसको माग बढेको पुर्खौंदेखि कुमाले पेसामा लाग्दै आएको मङ्गल प्रजापतिले बताए ।
तालाकोमा पुर्खौंदेखि माटोको भाडा बनाउँदै आएका ४५ वर्षीय रामप्रसाद प्रजापतिको परिवारका सदस्य पनि भाडा बनाउनै व्यस्त देखिन्छन् । पुर्खादेखि गर्दै आएको काम छोड्न पनि भएन, गर्न पनि गाह्रो भन्दै उहाँ तिहारको मौसममा मात्र एकदेखि तीन लाखसम्मको भाडा बिक्री हुने बताए । तिहार सकिए पछि अलि फुर्सद होला, नत्र उत्तिकै हो भन्ने कुमालेले काम गर्नसमेत भागबन्डा लाउने गरेका छन् । घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउन, भाडा पोल्नेलगायतका काम गर्छन् भने महिला भने भाडा सुकाउने, भाडामा रङ लगाउने र भाडाको व्यवथापन गर्न मै व्यस्त रहने गरेका छन् ।
काठमाडौं उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखौं पालालगायतका सामग्रीको अर्डर आएपछि कुमाले समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चाजस्ता सामानको माग बढेकाले यस्ता सामान बनाउन व्यस्त रहेका छन् ।
थोरै भाडा बनाउनेले पनि तिहारमा ७५ हजारभन्दा बढी आम्दामी गर्ने गरेको र बाहिरबाट आएको माग लिएर भाडा बनाउनेले तिहारमा मात्र तीनलाखदेखि पाँच लाखसम्म आम्दामी गर्ने उनीहरुको भनाइ छ । कतिपय कुमालेले अरु समयमा भाडा नबनाए पनि तिहारमा भने बढी फाइदा हुने भएकाले भाडा बनाएर तिहार खर्च जुटाउने गर्दछन् ।

प्रतिक्रिया